पञ्चेश्वर सडक निर्माण कार्यमा अवरोध

Posted on: 20 Feb, 2017

फागुन ९, बैतडी | पाटन पञ्चेश्वर सडकखण्ड निर्माण कार्य कुलाउ गाविसका केही स्थानीयवासीको अवरोधका कारण रोकिएको छ । 

विसं २०३८ देखि निर्माण सुरु भएको पाटन पञ्चेश्वर सडक कुलाउसम्म पुगेको र कुलाउबाट निर्माण कार्य अघि बढाउन केही स्थानीयवासीले अवरोध पु¥याएको निर्माणको जिम्मा पाएको चन्द्रा एन्ड वसन्त कम्पनीका ठेकेदार सुरेश चन्दले बताउनुभयो । 

तल्लोसोराडवासीको बर्षौंदेखिको सडकको सपना पूरा हुन लागेका बेला केही स्थानीयवासीकै अवरोधले सडक निर्माण कार्य रोकिएमा सर्वसाधारण चिन्तित बनेका छन् । सडक बल्ल ३५ वर्षपछि पूरा हुने बेला स्थानीयवासीले नै अवरोध गरेकाले उनीहरु चिन्तित बनेका हुन् । 

पाटनदेखि ६२ किलोमिटरको दूरीमा रहेका पञ्चेश्वरलाई जोड्नका लागि पाटन–पञ्चेश्वर सडकको निर्माण कार्य सुरु गरिएको थियो । कुलाउको तिचोरामा यही माघमा सडक पुगेपछि आ–आफ्नो वडाबाट लैजानुपर्ने भन्दै स्थानीयवासीबीच विवाद सुरु भएको हो । केहीले सडक निर्माण गर्दा आफ्नो जग्गा मासिने भन्दै सडक निर्माणमा अवरोध पुर्याएका कुलाउ माविका प्राचार्य गोरखबहादुर चन्दले बताउनुभयो । 

सडक डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख ललितजङ्ग खनालले पाटन –पञ्चेश्वर सडक निर्माणमा केही अवरोध देखापरेको र स्थानीयस्तरमा देखिएको विवाद छिट्टै समाधान गरेर निर्माण कार्य अघि बढाइने बताउनुभयो । 

निर्माणाधीन पाटन–पञ्चेश्वर सडक कुलाउमा अवरोध भएपछि महाकाली पञ्चेश्वर र आमचोरा गाविसका जनताले भने यथाशीघ्र सडक निर्माण कार्य सञ्चालन गर्न माग गरेका छन् । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय आयोजक कमिटी सदस्य रमेश चन्दको अगुवाइमा स्थानीयवासीले विवाद समाधान गरी सडक निर्माण कार्य सञ्चालन गर्न प्रजिअ किशोरकुमार चौधरीलाई निवेदन दिएका छन् । प्रजिअ चौधरीले निर्माण कार्य अवरुद्ध भएको सडक सञ्चालन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!