तेस्रो जंगल फेस्टिभलको तयारी पूरा

Posted on: 21 Feb, 2017

फागुन १०, पोखरा | परिचय नेपालको आयोजनामा हुन लागेको तेस्रो जंगल फेस्टिभलको तयारी पूरा भएको छ । फागुन १२ देखि  २१ गतेसम्म संचालन फेस्टिभलमा लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाइनुको साथै रोबोटिक भूत घर, नेपाल र भारतको रेस्लिङ, फेशन शो, नाटक मञ्चन हुने आयोजकले जनाएको छ । फेस्टिभलका लागि ६० भन्दा बढी डिजाइनरको आकर्षक पहिरनसहित मोडलहरु ¥याम्पमा उत्रनेछन् ।

यूथ क्रियशन थिएटरसँगको सहकार्यमा नाटक ‘भट्टीका सपना’ समेत मञ्चन हुनेछ । करिब २५ जना गजलकार र मुक्तककारको प्रस्तुती भेस्टिभलको आकर्षणको रुपमा रहेका छन् । फेस्टिभलमा १७० भन्दा बढी चराको आवाज दुरुस्तै निकाल्न सक्ने रमेश दुलालको प्रस्तुती, दिपकराज गिरी, दिपाश्री निरौलाको विशेष प्रस्तुती पनि हेर्न पाइनेछ । फेस्टिभलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने थुप्रै रोचक कुराहरु समावेश गरिएको परिचय नेपालका अध्यक्ष सोभित बस्यालले बताए ।

१० दिन सम्म चल्ने फेस्टिभलमा गायक कर्णदास, आस्था राउत, गिरिश खतिवडा, ज्योती मगर, रामजी खाड, योगेश काजी लगायतका कलाकारको प्रस्तुती पनि समावेश गरिने आयोजकले जनाएको छ । फेस्टिभलमा थारु, बोटे, कुसुन्डा जातिको नृत्य पनि देख्न पाइनेछ । झण्डै एक लाख दर्शक भित्रने अनुमान गरिएको फेस्टिभलमा ५० वटा स्टल रहने बस्यालले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!