गोरखाका बुढीगण्डकी प्रभावितलाई मुआब्जा बितरण सुरु

Posted on: 23 Feb, 2017

जि.पि.पौडेल/फागुन १२, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखामा जग्गाधनीहरुलाई मुआब्जा बितरण आजबाट सुरु गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय गोरखामार्फत प्रभावितहरुलाई पहिलो चरणमा गोरखाका ३ गाविस घ्याल्चोक, भूम्लीचोक र दुर्बङमा मुआब्जा बाँड्न लागिएको छ । तीमध्ये आज ३२ जना प्रभावितको खातामा मुआब्जा बापतको रकम जम्मा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।  

मुआब्जा बापत उनीहरूले ४ करोड ७२ लाख ७८ हजार ५ सय २१ रुपैयाँ बुझेका हुन् । अहिलेसम्म पैसा बुझ्नेमा १ लाख रुपैयादेखि ८० लाख रुपैयासम्म पाउने रहेका छन् । 

मुआब्जा वितरणकै लागि बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जिल्ला प्रशासन कार्यालयको खातामा २ अर्ब ५० करोड रुपैयाँ पठाएको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!