गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने

Posted on: 24 Feb, 2017

फागुन १३, मुगु । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किमी मोटरबाटोको कालोपत्रे तत्काल सुरु गरिने प्रतिबद्घता व्यक्त गर्नुभएको छ । 

नेपाल दलित सङ्घ मुगुको पाँचौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कर्णालीका दलित परिवारको आवास कार्यक्रमअन्तर्गत एक गाविसमा बन्ने १० घरलाई बढाएर २० घर बनाइने र गमगढी बजारलाई व्यवस्थित बनाउन योजना बनाइने जानकारी दिनुभयो । 

सहरी विकास मन्त्रालयअन्तर्गत कर्णालीमा गरिने विकासको गुणस्तर र कार्य सहजताका लागि पाँचवटै जिल्लामा इन्जिनियरसहितको सब युनिट राखिने पनि उहाँले जानकारी दिनुभयो । 

सदरमुकाम गमगढीबाट रारा तालसम्म पुग्ने १६ किमी सडक मात्र भए पनि ग्राभेल र कालोपत्रे भएमा पर्यटकलाई धेरै सहज हुने र तिनको सङ्ख्या दोब्बरले बढ्ने अपेक्षा गरिएको छ । गत वैशाखदेखि कात्तिक मसान्तसम्म रारा घुम्न २५ हजार बढी आन्तरिक पर्यटक आएको नेपाल पर्यटन बोर्डको अभिलेखले देखाएको छ । 

सो अवसरमा पूर्वशिक्षाराज्यमन्त्री हस्तबहादुर मल्लले मुगु जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सोरुकोट, तारापानी, पुलु, छाइल, माझचौर र रातापानी क्षेत्रलाई सहरका रुपमा विकास गर्न मन्त्रीसँग आग्रह गर्नुभयो । 

नेपाल दलित सङ्घ मुगुका अध्यक्ष हर्क नेपालीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमपछि बन्दसत्र सुरु भएको छ । जिल्लाभरिका गाउँस्तरीय दलित सङ्घका सदस्य सहभागी भएको सो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!