प्युठान भिंगृमा ज्योती विकास बैंकको एटिएम सेवा सुरु

Posted on: 04 Mar, 2017


फागुन २१, प्यूठान । ज्योती विकास बैंक लिमिटेडले प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीको आधारशिविर भिंगृ शाखामा ‘एटिएम’ सेवा शुभारम्भ गरेको छ । 

जिल्ला बाहिरबाट स्वर्गद्धारी आउने पर्यटकलाई लक्षित गर्दै उक्त सेवा सुचारु गरिएको बैंकले जनाएको छ । शुक्रवार बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सेवाको शुभारम्भ गरेका हुन् । ‘गाउँमै आधुनिक सेवा दिने उद्देश्यले एटिएम सूचारु गरेका हौँ’,उनले भने,‘दुर्गममै अत्याधुनिक सुविधा दिने बैंकले योजना बनाएको छ ।’

बैंकको शाखाबाट प्यूठानका माडी क्षेत्रमा पर्ने भिंगृ, बेलवास, सारी, नयाँगाउँ, स्वर्गद्धारीखाल, कोचिवाङ, गोठिवाङ, नयाँगाउँ सहित छिमेकी जिल्ला रोल्पाका ग्राहकहरु प्रत्यक्ष लाभांवित भएका छन् । बैंकले हाल जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाग्दुला सहित मच्छि, दाखाक्वाडी, भिंगृबाट बैंकिङ सेवा दिइरहेको भिंगृका शाखा प्रवन्धक सुभाषचन्द्र श्रेष्ठले जानकारी गराए । 


एटिएम सेवा सुचारु भएपछि स्वर्गद्धारी आउने पर्यटकको आर्थिक कारोवारलाई सुरक्षित र भरपर्दो बनाउने आशा गरिएको क्षेत्रिय प्रवन्धक मदन बहादुर के.सी.ले विश्वास लिएका छन् । ‘स्वर्गद्धारीमा दिनहुँ सयौँको संख्यामा पर्यटक आउछन्’,के.सी.ले भने,‘गोजीमा पैसा बोकेर आउनेपर्ने झन्झट हटाउन सेवा सुचारु गरेका हौँ ।’ ‘ग्राहकहरुको नजिकको साथी’ बनेर सेवा प्रवाह गरिने समेत उनले प्रतिवद्धता जनाए । 

उद्घाटनमा शुभकामना दिँदै बैंकका संचालक ध्रुव कोइराला, नारायण पौडेल, गोकर्ण खतिवडा, नायव कार्यकारी अधिकृत मनोज ज्ञवाली लगाएतले भरपर्दो र विश्वसनिय सेवा प्रदान गर्नतर्फ बैंक सदैव प्रतिवद्ध रहेको जनाएका छन् । 

माडी क्षेत्रमा पछिल्लो समय बैंकहरु खुल्ने क्रम बढ्दै गएकाले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई आर्थिक कारोवार गर्न धेरै सहज भएको प्यूठान उद्योग वाणिज्य संघका उपाध्यक्ष गिर बहादुर गुरुङले बताएका छन् । बैंकले हाल निक्षेप संकलन, ऋण लगानी, मोवाइल बैंकिङ लगाएत सेवा प्रदान गर्दै आइरहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!