डडेल्धुराका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण

Posted on: 05 Mar, 2017

फागुन २२, डडेलधुरा । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । 

पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् । डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् । 

यातायात सञ्चालनका लागि जुन मापदण्डअनुसार सडक निर्माण हुनुपर्ने हो सो अनुसारका नभएको जिल्लामा सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले बताएका छन् ।

 उपभोक्ता समितिका पदाधिकारीले आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरेका कारण यातायात सञ्चालनको मापदण्डअनुसार सडक निर्माण नभएका हुन् । जिविसदेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका बढी जसो सडक मापदण्ड अर्थात् ग्रेड नमिलाई निर्माण हुने गरेका छन् ।

 प्राविधिकको परामर्शसमेत नलिई आफ्नो मनोमानीअनुसार डोजर प्रयोग गरेर सडक निर्माण गर्ने गरिएको छ । अधिकांश ग्रामीण सडकमा ज्यान जोखिममा राखेर यातायात सञ्चालन गर्नु परेको चालकको भनाइ छ ।

 राजनीतिक दबाबले आफ्नो पायक पर्ने स्थानमा सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकिरहेका स्थानीयवासीको भनाइ छ । डडेल्धुरा जिल्लाका १८ गाविस र दुई नगरपालिकामा करिब तीन दर्जन ग्रामीण सडक रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!