नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

Posted on: 09 Mar, 2017

फागुन २६, तेह्रथुम । तेह्रथुमको छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयले नमुना विद्यालय बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी बहुधार्मिक महोत्सवबाट रु ३५ लाखभन्दा बढी नगद सङ्कलन गरेको छ । 

विद्यालय परिसरमा आयोजित सप्ताहव्यापी भागवत् महापुराण तथा लिम्बू जातिमा प्रचलित तीनदिने तङ्सिङ पूजालगायतका धार्मिक कार्यबाट रु ३५ लाखभन्दा बढी सङ्कलन भएको प्रधानाध्यापक टीकाराम बस्नेतले बताउनुभयो । 

फागुन १५ बाट सुरु भएको महोत्सव आइतबार सकिएको छ । महोत्सवबाट सङ्कलित रकमबाट विद्यालयलाई जिल्लाकै नमुना सामुदायिक विद्यालय बनाउने लक्ष्य राखिएको थियो । सो अभियानमा साथ दिँदै विभिन्न धर्मावलम्बीले विद्यालयलाई सहयोग गरेका हुन् । यस्तै, विद्यालयलाई १२ जनाले जग्गादान पनि गरेका छन् । 

महोत्सवको अवसरमा गोविन्द भट्टराई, राममाया सुतार कार्की, टङ्क थापा, झमक खड्का र मीना निरौलाले चार÷चार आना, वीरबहादुर भट्टराईले दुई रोपनी, झपटबहादुर कार्कीले एक रोपनी, रामबहादुर भट्टराईले साढे ९ रोपनी, डम्बर भट्टराईले चार आना, देशबहादुर कार्कीले एक रोपनी ११ आना, सुरेन्द्र खड्का, दिल पाक्साँवा र शङ्खरमान खेवाले सामूहिकरुपमा चारआना र टीका ढकालले मधुमल्लामा नौ धुर जग्गादान गर्नुभएको विद्यालयले जनाएको छ । 

महोत्सवबाट सङ्कलित सो रकमबाट विद्यालयलाई नमुना विद्यालय बनाउन पूर्वाधार विकास, अत्याधुनिक प्रविधियुक्त शैक्षिक वातावरण विकासलगायत कार्यमा खर्च गरिने विद्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!