तराईको होली त भोली हो ! आज होइन नि !

Posted on: 12 Mar, 2017

प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अपरान्हतिर एक्कासी देखियो १५/२० जना एकै खाले ड्रेसमा सजिएका युवाहरुको हुल । उनीहरु मादलको तालमा नाच्दै गाउँदै बजारतर्फ बढे । 

कोही मान्छे भन्दै थिए यिनीहरु झुक्किए कि क्यो हो ? तराईमा त होली भोलि मात्रै हो । आजै खेल्दैछन् त यिनीहरु होली । कोही भन्दै थिए, भोलि होलीका लागि जोहो गर्न पैसा उठाउँदै पो छन् त । 

तर, ती युवाका टोलीहरु पैसा उठाउन हैन कि पैसा बचत गर्ने बानीको विकास गराउनका लागि चेतनामूलक कार्यक्रम पो लिएर हिडेका रहेछन् । होली पर्वको सन्दर्भ पारेर “भार्गवसँगको नाता एक घर एक खाता” भन्ने मूल नाराका साथ भार्गव विकास बैंक गुलरिया शाखाले सञ्चालन गरेको घरदैलो वित्तिय जागरण अभियान अन्तर्गतको जमघट पो रहेछ त्यो र्याली ।

  

अपरान्हतिर बैंकका युवा कर्मचारीहरु हातमा आर्थिक सचेतना सम्बन्धी विभिन्न सन्देशमूलक नाराहरु लेखिएका प्ले कार्डका साथमा बजार परिक्रमा गरेका थिए । प्ले कार्डमा ‘उद्यम व्यवसाय गर्नका लागि रकमको आवश्यकता छ भने आफ्नो व्यवसायको योजना सहित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखौं ।’ ‘बचत रकम बैंकमा राखौं, उद्यम गर्न बैंकबाट कर्जा लिने गरौँ ।’ ‘आजको तपाईंको बचत भोलिको उद्यम गर्ने पूँजी हुन सक्छ ।’ ‘तपाईंको बचत आर्थिक विकासको आधार हुन सक्छ ।’ ‘आजैदेखि बचत गर्ने बानी बसालौँ ।’ आदि नाराहरु लेखिएका प्ले कार्ड सहित बजार परिक्रमा गर्दै विभिन्न रङ्गका अबीरहरु लगाउँदै होलीको शुभकामना बाँडिरहेका थिए ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!