जोमसोम-तिलिचो पदमार्ग मर्मत हुनसकेन

Posted on: 15 Mar, 2017


चैत २, मुस्ताङ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम– तिलिचो पदमार्ग मर्मत हुनसकेको छैन । 

पर्यटकीय मौसम सुरु हुन लागेपनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला समन्वय समिति मुस्ताङले आवश्यक चासो नदेखाउँदा पदमार्ग मर्मत हुन नसकेको हो । जोमसोम, ठिनी, याखर्क हँुदै तिलिचो पुग्ने छोटोदुरीको पदमार्ग सञ्चालन भए पनि त्यसको मर्मत हुन नसक्दा पर्यटक मनाङ हँुदै घुमाउरो मार्ग प्रयोग गर्न बाध्य भएका छन् । 

समुद्री सतहदेखि चार हजार ९१९ मिटरको उचाइमा अवस्थित तिलिचो आकर्षक पर्यटकीय गन्तव्य भए पनि त्यहाँ पुग्न भरपर्दो पदमार्गको अभाव छ । मुस्ताङको थोराङला पास हँुदै त्यहाँ पुग्न सकिने भए पनि जोमसोम, ठिनी र याकखर्कको मार्गलाई सञ्चालनमा ल्याउनसके पर्यटकको आवागमन बढ्ने ठिनीका अगुवा आश्बहादुर थकालीले बताउनुभयो । 

“गत वर्षदेखि यो पदमार्ग मर्मत हुनसकेको छैन, हिउँले विभिन्न ठाउँमा पदमार्ग भत्किएको छ”, उहाँले भन्नुभयो, “हामीले एक्याप र जिससलाई निरन्तर दबाब दिएका छौँ, तर मर्मत भएको छैन ।” एक्यापको तथ्याङ्कअनुसार विभिन्न रुटको प्रयोग गरेर तिलिचो तालमा बर्सेनि १० देखि १५ हजार पर्यटक पुग्ने गरेका छन् । 

जोमसोम भित्रिने बाह्य पर्यटकलाई जोमसोम–तिलिचो पदमार्गबाट त्यहाँ पु¥याउन पर्यटन व्यवसायीले प्रयास गर्दै आए पनि त्यो सफल हुन सकेको छैन । यो पदमार्गबाट दुई दिनमै तिलिचो ताल पुग्न सकिन्छ । जोमसोमबाट याकखर्क बास बसेर भोलिपल्ट तिलिचो पुग्न सकिन्छ । पदमार्गका लागि होर्डिङ बोर्डदेखि होटल लजको समेत अभाव भएको ठिनीका युवा निरज थकालीले बताउनुभयो । 

उहाँका अनुसार, पश्चिममा पर्ने नीलगिरि हिमालको फेंदमापर्ने नमखुलेक पहाडको भौगोलिक विकटता र मेसोकोन्दोको अप्ठ्यारो ढङ्गे पदमार्गले पर्यटकलाई असहज बनाएको छ । नमखुलेकदेखि मेसोकोन्दो पहाडको तिन किलोमिटर पदमार्ग छिचोल्न पर्यटकलाई समस्या हुने अवस्था छ । 

मेसोकोन्दोदेखि तिलिचो ताल एक घन्टाको दुरीमा छ । एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जोमसोम– तिलिचो पदमार्गको सम्भावना बढी भए पनि मर्मत सम्भारमा ढिलाइ भएको बताउनुभयो । “सबै निकायसँग समन्वय गरी हामीले त्यो मर्मत गर्नेछौँ”, उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!