६०औं सहकारी दिवस प्युठानमा पनि मनाईयो

Posted on: 02 Apr, 2017

चैत २०,प्युठान । विभिन्न कार्यक्रम गरी सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा सहकारीहरुले मनाएका छन् । 

२०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सहकारी दिवस मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने तय गरिएको छ । 

देशभर विभिन्न विषयका ३४ हजार सहकारी संघ/संस्था रहेका छन् । सहकारीमा संगठित रुपमा आवद्ध झण्डै ६० लाख जनसंख्या मध्ये झण्डै ५१ प्रतिशत महिला रहेको राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवं सांसद ओमदेवी मल्ल जोशीले जानकारी दिनुभयो । सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक उपार्जन, गरिबी निवारण जस्ता काम भएपछि महिलाहरु आर्थिकरुपमा सशक्त हुने क्रम बढ्दो छ ।  यसैबीच, प्युठानमा पनि विभिन्न कार्यक्रम गरि सहकारी दिवस मनाइएको छ।

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजनामा विजुवारमा प्रभातफेरी कार्यक्रम सहित सहकारीहरुबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजयलक्ष्मी महिला बहुउदेश्यीय सहकारी संस्था जुम्रीमा सहकारी विषयक खुल्ला अन्र्तक्रिया कार्यक्रम गरिएको हो । 

जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष जिवलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले जिल्ला संघको भूमिका बढाउनुपर्ने बताएका छन् । उनीहरुले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा बचत तथा ऋणकै कारोबारमा केन्द्रित हुनुपरेको गुनासो गरेका छन् । 

कार्यक्रम जिल्ला बचत सहकारी संघका अध्यक्ष ओमभक्त पण्डितले सहकारीहरु निति, विधि र प्रविधि अनुसार चल्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारी ऐनको दायरा फराकिलो हुन नसकेको र समय सापेक्ष नभएकाले समस्याहरु सृजना भएको बताउनुभयो । 

जिल्ला सहकारी संघले जिल्लाका सहकारीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको संघका अध्यक्ष जिवलाल न्यौपानले बताउनुभयो । उहाँले सहकारीहरुलाई संघमा आवद्ध हुँदै विभिन्न कार्यक्रममा सहभागी हुन आग्रह समेत गर्नुभयो । 

जिल्लामा १ सय ९५ सहकारी दर्ता भएका छन् । जसमध्ये ३७ वटा सहकारी निष्क्रियको सूचीमा रहेको डिभिजन सहकारी कार्यालय दाङ घोराहीले जनाएको छ । जिल्लामा बहुउदेशयीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सामाजिक उद्यमी, साना किसान सहकारी रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!