तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने

Posted on: 13 Apr, 2017

चैत ३१, दाङ । दाङको तुलसीपुरमा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । 

तुलसीपुरमा रु १० करोड ५० लाखको लागतमा सो बसपार्क निर्माण हुन लागेको हो । बसपार्क निर्माणका लागि शिवशक्ति कन्सट्रक्सन र उपमहानगरपालिकाबीच १५ महिनाभित्र काम सम्पन्न हुने गरी यही चैत २५ गते सम्झौता भएको उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो । 

उपमहानगरपालिकाले पाँच वर्ष अगाडी बनाएको गुरुयोजनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा नगर विकास कोषले २०७० साल असार ३० गते परियोजनाको विधिवत् रुपमा स्वीकृति दिएको थियो । विभिन्न कारणले उपमहानगरपालिकाले पहिलो चरणमा छनोट गरी पठाएको टेन्डर नगर विकास कोषले स्वीकृत नगर्दा निर्माण प्रक्रियामा ढिलाइ भएको हो । 

उपमहानगरपालिकाले सर्वदलीय सर्वपक्षीय भेला गरी बसपार्क निर्माण टेन्डर अर्को निर्माण कम्पनी शिवशक्ति कन्सट्रक्सनलाई दिने निर्णय गरी नगर विकास कोषमा पठाएको थियो । नगर विकास कोषले आयोजना स्वीकृत गरी निर्माण कार्य अगाडि बढाउन पत्र पठाएको उपमहानगरपालिकाले जनाएको छ । 

“बसपार्क निर्माणको कार्य अगाडि बढेको छ”, इन्जिनियर योगीले भन्नुभयो । गुरुयोजनका लागि पहिलो चरणमा नगर विकास कोषले रु १० करोड ५० हजार रकम लगानि गर्ने बताएको छ ।

नगरपालिकाले १० प्रतिशत साझेदारी गर्ने सर्त रहेको छ । करिब रु ३९ करोड लगानीमा तीन चरणमा काम हुने र दुई वर्षभित्र काम सम्पन्न हुनेगरी योजना लागू हुने सम्झौतामा उल्लेख छ । 

रु एक करोड आठ लाख ९६ हजार अनुदान र बाँकी रु आठ करोड ९० लाख ७४ हजार सरल ऋण उपमहानगरपालिकाले तिर्ने जनाएको छ । उपनगरपालिकाले २० वर्षभित्र ऋण तिरिसक्नुपर्ने इन्जिनियर योगी बताउनुहुन्छ । 

हाल पहिलोपटक रु १० करोड ५० लाखमा टिकट काउन्टर, व्यापार कक्षलगायत निर्माण गरिने छ । निर्माण भएपछि हाल बसपार्कमा देखिएको असुरक्षा, बर्सातमा हिलो तथा हिउँदमा धुलो उड्ने समस्याबाट मुक्ति पाउने यातायात व्यवसायी बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!