अबको ४ बर्षमा सम्पन्न होला, बुढीगण्डकी जलविद्युत् आयोजना ?

Posted on: 18 Apr, 2017

अनिल अधिकारी | बैशाख ५, काठमाडौँ | 'फेवा तालभन्दा १६ गुणा ठूलो ताल, उ त्यो ठाउँदेखि..... उ त्यहाँसम्म पानी नै पानी' मैले यसरी भन्दै गर्दा दुई बर्ष अघि मसँग मेरो गाउँ धादिङ्ग जिल्लाको खरी गाविस (हालको ज्वालामुखी वार्ड नम्बर ५) पुगेका मेरो साथी निकै उत्साहित बने ।

उनको प्रश्न थियो 'कति बर्षमा बन्छ त ?' मेरो जवाफ थियो 'अबको ७/८ बर्ष भित्रै बन्छ रे ।' 

यो शृंखला अझै पनि मेरो गाउँमा जाने नयाँ पर्यटकसँगको वार्तालाप चलीरहन्छ । बिभिन्नले आ-आफ्नै तरिकाले बुढीगण्डकी र त्यसको निर्माणपछीको सपना देखेका छन् । आयोजना सम्पन्न हुनु कहिले-कहिले अहिलेदेखिनै खरी गाविसको माथिल्लो सडकले छोएको तथा बुढीगण्डकी देखिने जग्गाको भाउ एक्कासी १० गुणासम्म बढेर किन्नै नसकिने भईसकेको छ । 

आयोजनाकै कारण पहिले-पहिले खाने पानी नै नभएको ठाउँमा के छोरी दिने भन्नेहरु पनि आजकाल यो गाउँमा छोरी दिन खोजि-खोजि आउन थालेका छन् । सडक छेउछाउ आनाको २ लाख भन्दा माथि रकममा जग्गाको कारोवार हुन थालिसकेको छ । यो बिषय खरी गाविस मात्र नभई बुढीगण्डकी आयोजना छोएको धेरै गाविससँग सम्बन्धित छ । तर आयोजनाको काम यति ढिलो गतिमा अघि बढेको छ कि यस्तै तालमा ४० बर्षमा पनि निर्माण सम्पन्न गर्न सकिने स्थिति छ । 

आयोजना निर्माणको लागि २०६९/७० देखि हालसम्मकै कार्य प्रगतिलाई हेर्ने हो भने यो आयोजनाको काम मात्र ५ दशमलव ११ प्रतिशत छ  । २०७७/७८ भित्र कार्य सम्पन्न हुने लक्षित नीति लिईएको भएपनि ४ बर्षको प्रगति हेर्दा लाग्छ, ४ बर्षमा ५ प्रतिशत काम भएको अवस्थामा यस्तै तरिकाले काम अघि बढ्ने हो भने अझै यो आयोजना बन्न बर्षौं लाग्छ । मुआव्जा वितरणको काम मुख्य मानिएपनि मुआब्जा निर्धारण भईसकेका ठाउँमा समेत कामले उच्च गति लिन नसक्नु बिडम्बना छ । धादिङ्गका तीन र गोरखाका तीन गाविसका प्रभावितलाई मुआब्जा वितरण सुरु भएपनि गोरखाले जति धादिङ्गले काम गर्न सकेको छैन । साथै अन्य स्थानमा मुआब्जाको काम अत्तोपत्तो छैन । उता धादिङ्ग/गोरखा सिमामा पर्ने आरुघाट बजार र धादिङ्गको खहरे बजारको मुआब्जा निर्धारणको काम भएको छैन । आयोजनाको डीपीआर तयार भइसके पनि त्यसलाई अन्तिम रूप दिएर निर्माणका लागि ठेक्का प्रक्रिया कहिले सुरु हुने भन्ने निश्चित छैन । आयोजनाको कुरा छोडौं, आयोजना स्थलसम्म जोड्ने बाटो पक्कि बनाउने बिषयमा समेत कुनै काम हुन सकेको छैन । 

झन्डै ३ खर्बमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो आयोजना अन्तर्गत हालसम्म १ अर्व २७ करोड मात्र खर्च गरिएको छ । कार्य प्रगति निकै धिमा गतिमा अघि बढ्दै गर्दा प्रभावित जनता र बुढीगण्डकीको आयोजना पछी आफ्नो भाग्य हेरेर बसेकाहरु समेत दुविधामा छन् । आयोजना बन्छ रे तर यस्तो गतिमा कहिले बन्छ ? यो सबैको प्रश्न बन्ने गरेको छ ।  

मुआब्जासँगै प्रभावित जनताको ब्यबस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ । सबैलाई चित्तबुझ्दो ब्यबस्थापन गर्ने आश्वासन बाडिएको छ तर कसरी ब्यबस्थापन गरिन्छ भन्ने बारेमा कुनै स्पष्ट खाका दिईएको छैन । सरोकारवाला निकायहरुले यस बिषयमा गम्भीर बन्नु जरुरी भईसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!