जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु

Posted on: 09 May, 2017


बैशाख २६, इलाम । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । 

७।६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । 

सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिनुभयो । 

एक अर्ब ५७ करोडमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । वार्षिक चार करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सवस्टेसनमा साढे १० किलोमिटर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । 

लक्ष्मी बैंक लगानीकर्ता रहेको आयोजनामा अन्य बैंक कैलाश बैंक, प्रभु बैंक र भिवोर बैंकले लगानी गरेका छन् । 

आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले जानकारी दिनुभयो । नेपालमै साना जलविद्युत् आयोजनामा पहिलो पटक तोसिवाको सामग्री प्रयोग भएको हो । 

पावर हाउसमा चारसय किलोवाट क्षमताका दुईवटा फ्रान्सिस टर्वाइन जडान गरिएका छन् । आयोजनाका मुख्य संरचना एक हजार पाँचसय मिटरको सुरुङ, हेडवक्र्स, हेडरेस पाइप, सर्च टेंक, पेनस्टक, पावर हाउस र ट्रान्समिसन लाइन सबै निर्माण भएको छ । 

आयोजनाले फिक्कलदेखि पावरहाउससम्म साढे दश किलोमिटर सडक निर्माण पनि सम्पन्न गरेको छ । सडक निर्माणपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!