कपिलवस्तुको टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

Posted on: 12 May, 2017

बैशाख २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ । 

आज दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिनुभयो । खोटो पकाउनका लागि तैयारी अवस्थामा राखिएको थियो । भट्ठीमा बालेको आगो सल्केर फ्याक्ट्रीमा आगलागी भएको हो । 

आगो कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा सबै कामदार बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!