आजदेखि स्वयम्भूबाट भक्तपुरको सूर्यविनायकसम्म साझा यातायात

Posted on: 24 May, 2017

जेठ १०, काठमाडौँ | यात्रुको सुविधालाई मध्यनजर गर्दै साझा यातायातले आफ्नो सेवा आजदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म विस्तार गरेको छ । 

काठमाडौँ, ललितपुर र उपत्यकाबाहिरका केही स्थानमा समेत आफ्नो सेवा विस्तार गरेको साझा यातायातले आजदेखि भक्तपुरमा पनि आफ्नो सेवा सुरु गरेको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान छ देखि राति ९ बजेसम्म साझा यातायातले नागरिकलाई उक्त रुटमा सेवा प्रदान गर्नेछ । 

आजदेखि हरेक दिन बिहान ६ बजे देखि स्वयम्भूबाट १० वटा साझा बस छुट्नेछन् भने त्यसैगरी १० वटा बस सूर्यविनायकबाट स्वयम्भूतर्फ आउने प्रमुख पाण्डेले जानकारी दिनुभयो । 

स्वयम्भूबाट छुटेको बस कलङ्की, कालीमाटी, रत्नपार्क, पुरानो बसपार्क, थापाथली, माइतीघर, नयाँबानेश्वर, कोटेश्वर, लोकन्थली, कौशलटार, गठ्ठाघर, सल्लाघारी हँुदै सूर्यविनायक पुग्नेछ । 

भक्तपुरमा सञ्चालन गरिएको बस नयाँ नभई हाल अन्य स्थानमा सञ्चालनमा रहेका ४६ वटा बसबाट नै २० वटा त्यस रुटमा सञ्चालन गरिने भएको हो । काठमाडौँ उपत्यकाबाहिरका लागि पनि साझा यातायातले अन्य बस सञ्चालन गर्ने तयारी गरिरहेको पनि प्रमुख पाण्डेले जानकारी गराउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!