बैतडीमा विद्युत्भार कटौतीको समस्याले हैरानी

Posted on: 24 May, 2017

जेठ १०, बैतडी | यहाँका बासिन्दा विद्युत्भार कटौतीका कारण हैरानी खेप्दै आएका छन् । 

विद्युत्भार कटौती हुँदा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । विद्युत्भार कटौतीका कारण श्रीकोट स्वास्थ्य चौकीमा खोप सेवा प्रभावित भएको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार स्वास्थ्य चौकीमा रहेको फ्रिज पुरानो भइसकेको र त्यसैमा विद्युत्भार कटौती हुँदा समस्या भएको छ । 

यस्तै विद्युत्भार कटौतीका कारण जिल्लाका सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी समेत प्रभावित हुने गरेका छन् । “बेलाबेलामा रेडियोको विद्युतीय सामग्रीमा क्षति हुने गरेको छ, प्रसारण नै रोक्नुपर्ने बाध्यता छ,” रेडियो निङ्लाशैनीका स्टेसन म्यानेजर भगीरथ अवस्थीले भन्नुभयो । 

नेपाल विद्युत् प्राधिकारण बैतडी वितरण केन्द्रले अनियमित रुपमा विद्युत्भार कटौती गर्ने गरेको छ । विभिन्न स्थानमा जीर्ण अवस्थामा रहेका खम्बा तथा जोखिम पूर्ण अवस्थामा रहेका तार मर्मत नहुँदा समस्या हुने गरेको छ । फिल्डमा खटाइएका कर्मचारीले प्रसारण लाइनमा के समस्या भएको भन्ने बारेमा चासो नलिँदा समस्या आएको दोगडाकेदार–३ श्रीकोटका शङ्कर भट्ट बताउनुहुन्छ । 

विद्युत्भार कटौतीका कारण पाटन क्षेत्रका बासिन्दाले समेत हैरानी खेप्दै आएका छन् । बेलाबेलामा बत्ती आउने जाने गर्दा समस्या हुने गरेको सिधारेखा अनलाइन पत्रिकाका सञ्चालक घनश्यामसागर पन्तले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले भने कमजोर विद्युतीय संरचनाका कारण विद्युत् सेवा अनियमित हुने गरेको जनाएको छ । कम बजेटमा बढी काम गर्नुपर्ने भएकाले यस्तो समस्या आउने गरेको शाखा प्रमुख राजेन्द्रलाल देव बताउनुहुन्छ । “विद्युत् सेवा विस्तार गर्दा ग्राहकले विद्युत् उपभोग गर्न हतार गर्दा खम्बा पनि टाढाटाढा राख्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । हावाहुरी र चट्याङका समस्याका कारण विद्युत् सेवा बारम्बार अवरुद्ध हुने गरेको उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!