भक्तपुरको हनुमन्तेमा विस्तारित ढलको स्थलगत निरीक्षण

Posted on: 27 May, 2017

जेठ १३, भक्तपुर | भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले हनुमन्ते खोला किनारमा निर्माण भइरहेको ढलको शुक्रबारस्थलगत निरीक्षण गर्नुभएको छ । 

हनुमन्ते खोला सफाइ परियोजनाअन्तर्गत हनुमन्ते खोला किनारमा विस्तार भइरहेको ढलको पाइप सानो भएको जनगुनासो आएपछि नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा उपप्रमुख रजनी जोशी, नगरपालिकाका कर्मचारी र परियोजनाका अधिकारीको संयुक्त टोलीले ढलको स्थलगत निरीक्षण गरेको हो । 

स्थलगत निरीक्षणका क्रममा ढलका लागि प्रयोग गरिएको ह्युम पाइप १६ इन्चको मात्र भएकाले ढलको व्यवस्थापनमा समस्या आउन सक्नेमा नगरप्रमुखलगायत जनप्रतिनिधिले चासो राख्नुभएको थियो । त्यस्तै खोला किनारमा निर्माण गरिएको पर्खालले खोला साँगुरो भएको गुनासो समेत व्यक्त गरिएको थियो । 

परियोजना कार्यान्वयन विभाग (पिआइडी)का इ किशोर पन्थीले वर्षात्को पानी र फोहर पानीका लागि छुट्टै व्यवस्था गर्नुपर्ने भएकाले पाइप सानो राखिएको जानकारी दिनुभयो । स्थलगत निरीक्षणका क्रममा पाइप सानो हुने देखिएको बताउँदै उहाँले वर्षात्को पानी र फोहर ढलको पानी व्यवस्थापनका लागि थप अध्ययनको आवश्यक महसुस भएको जानकारी दिनुभयो । 

स्थलगत निरीक्षणपछि नगर प्रमुख प्रजापतिले नगरका जनप्रतिनिधि, प्राविधिक टोली र अन्य सम्बन्धित निकायलाई आमन्त्रण गरी संयुक्त बैठक आयोजना गरेर फोहर ढल व्यवस्थापन र खोला सफा गरी नगरलाई स्वच्छ र सफा बनाउनेबारे छलफल गरिने बताउनुभयो । 

यसअघि गत बुधबार नगर प्रमुख प्रजापतिले हनुमन्ते खोलामा विस्तार भइरहेको सो ढलको विषयमा परियोजनाका अधिकारीसँग छलफल गर्नुभएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!