मापदण्ड बिपरीत बन्दै र ढल्दै रमपुरंवामा ढलनिकास

Posted on: 27 May, 2017


मोहम्मद ईजहार शेष | जेष्ठ १३, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला एक हप्ता नबित्दै ढलेको छ । कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला हिजो आएको सामान्य हावाहुरी र पानीले ढलेको हो । 

निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट भारतको सिमाना देखि उक्त बाटो  महेशपुरमा जाडिएको छ । ढल  निकासका लागि निर्माण गरीएको नाला एक हप्दा नबित्दै ढलेपछि स्थानीय आक्रोषित बनेका छन् । बाटो छेउमा निर्माण भईरहेको उक्त नाला एक तर्फ एक हप्ता अघिनै निर्माण भई पलास्टर समेत भईसकेको थियो भने बाटोको अर्को तर्फ अहिले नाला निर्माण भईरहेको छ । निर्माण गर्दा सिमेन्ट र बालुवाको मिश्रण १ र ४ को अनुपातमा गर्नु पर्ने भएपनि १—८ र १—१० सम्मको अनुपातमा निर्माण गरी भ्रष्टचार गर्ने नियतले निर्माण गरीएको हुँदा नालाहरु ढलेको स्थानीयले आरोप लगाएका छन् । उक्त नाला दुई ठाँउमा गरी करीब ३० मिटरसम्म ढलेको छ । करीब ११ लाखको लागतमा २०७३ चैत्र २६ गतेवाट सुरु भएको बाटो ग्रेभेल तथा ढल निकास निर्माण कार्यक्रम २०७४ असाढ १५ सम्म भ्याउनु पर्ने भएकाले हतार हतारमा निर्माण काम हुदै आएको छ । 

यता सडक ग्रेभेल तथा नाला निर्माण समितिका अध्यक्ष गँगा यादवले आफुलाई जानकारीनै नदिई निर्माण समितिको अध्यक्ष बनाईएको र निर्माण काममा पनि अध्यक्षको केही नचलेका भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । निर्माण समितिका अध्यक्ष यादव साविक रमपुरवां गाविसमा कार्यालय सहयोगिको रुपमा कार्यरत रहेका थिए । यादवले आफुलाई गाविस सविच र निवर्तमान गाविस अध्यक्षकोे डिजाईनमा अध्यक्ष बनाईएपनि निर्माण काममा आफ्नो संलग्नता नरहेको र रमपुरवाका स्थानीय नेताहरुकै अनुसार निर्माण भईरहेको यादवले फोन मार्फत बताउनु भयो । यसरी नवलपरासीमा निर्माण समिति, ओभरसीयर र सम्बन्धित कार्यालयकै मिलोमत्तोमा अधिकांस सरकारी भौतिक निर्माण कार्यहरु निर्माण भएको पाईन्छ भने त्यस्ता भौतिक संरचनाहरु केही दिनमै भत्कीने र बर्बाद हुने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!