बाजुराका सत्र विद्यालयमा हावाहुरीबाट १८ लाखको क्षति

Posted on: 08 Jun, 2017

जेठ २५, बाजुरा । एक महिनाअघि आएको हावाहुरीका कारण यस जिल्लाका १७ वटा विद्यालयमा ठूलो क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ । 

हावाहुरीले विद्यालयका छाना उडाउनाका साथै रूख ढलेर क्षति पुगेको जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले बताउनु भएको छ । प्रहरी प्रतिवेदनअनुसार सत्र वटै विद्यालयमा रु १८ लाख ८६ हजार ५५० बराबरको सम्पत्ति क्षति भएको छ । 

रेग्मीले दिनुभएको जानकारीअनुसार बजेडी आधारभूत विद्यालयमा चार लाख ९७ हजार, झाली प्राविमा ८६ हजार, नवदुर्गा भवानीमा एक लाख चार हजार २५०, त्रिशक्ति माविमा दुई लाख, घटाल आधारभूत विद्यालयमा ९६ हजार, भवानी माविमा २५ हजार, ब्रह्मेश्वरी आधारभूत विद्यालयमा ५० हजार, त्रिभुवनेश्वरी माविमा एक लाख र ब्रह्मदेवस्थली प्राविमा ७० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक उमेश रेग्मीले बताउनुभयो । 

त्यसैगरी, पुर्भुता आधारभूत विद्यालयमा ६० हजार, भगवती प्राविमा एक लाख ४६ हजार ४००, मण्डाली प्राविमा दुई लाख ३३ हजार ६००, जनता प्राविमा ३३ हजार ३००, त्रिपुरासुन्दरी माविमा एक लाख ५० हजार र जनप्रभात प्राविमा ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको छ भने बागेश्वरी आधारभूत विद्यालयमा कुनै क्षति नभएको पाइएको छ । क्षति भएका सबै विद्यालयको विवरण जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुरा पठाइएको छ । 

क्षति भएकामध्ये रत्न मावि सेलिफालको विवरण भने दैवी प्रकोपमा पठाइएको छैन । हावाहुरीका कारण जिल्लाका विद्यालयको छाना उडाएपछि विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!