डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द

Posted on: 15 Jun, 2017


असर १, डोल्पा । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ । 

आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि काम सुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिनुभयो । विमानस्थल कालोपत्र भएको केही दिनमै सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाइ छ । 

भौगोलिक विकटताका कारण भनेको समयमा सामान ढुवानीका लागि हेलीकोप्टर नपाइने, कहिले मौसमले साथ नदिने, कहिले कामदार नपाउने जस्ता यावत समस्याले विमानस्थल स्तरोन्नति कार्य अवरुद्ध हुँदै आएको आयोजना प्रमुख शाहीको भनाइ छ । 

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सम्पन्न नहुन्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकास्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 

मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याइएपछि बिरामी पर्यटकलाईसमेत आवतजावत गर्न सहज हुने भएको छ । जुफाल विमानस्थल कालोपत्र भएपछि डोल्पालीलाई जिल्लाबाहिर जान तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि सहज हुने बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!