आजदेखि कोरला नाका नजिक अन्तरदेशीय व्यापारमेला

Posted on: 15 Jun, 2017

हिमालपराीको जिल्ला मुस्ताङको कोरला नाकानजिक आजदेखि चीन र नेपालबीचको अन्तरदेशीय व्यापारमेला सञ्चालन भएको छ । नेपाल र चीनबीचको सीमावर्ती कोरला नाकाको क्षेत्रदेखि चिनियाँ भूमिको करीब १० किलोमिटरभित्र ढुङ्वानसेनस्थित समथर क्षेत्रमा मेला सञ्चालन हुँदै आएको छ । 

दुई देशबीचको धर्म, संस्कृति र सभ्यताको आदानप्रदान तथा सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष मेलाको आयोजना हुँदै आएको छ । दुवै देशको पारस्परिक सम्बन्धलाई प्रगाढ तुल्याउने उद्देश्यले चीनको स्थानीय सरकारले उक्त मेला आयोजना गर्दै आएको छ ।


यस सिजनको मेला आयोजनाका लागि चीनको तर्फबाट चिनियाँ सुरक्षा अधिकारी र नेपालको तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारी, लोमान्थाङ र दालोमे गाउँपालिकाका प्रमुख क्रमशः सुवर्णकुमार विष्ट र छोम्फेल गुरुङ (राजु)सहित जननिवार्चित प्रतिनिधिबीच बैठक सम्पन्न भइसकेको छ । व्यापार मेला प्रत्येक वर्षको दुई सिजनमा हुने गरेको छ ।


चीनको भूमिमा हुने व्यापार मेलालाई सुरक्षित र व्यवस्थित बनाउन इलाका प्रशासन कार्यालय लोमान्थाङले सीमावर्ती क्षेत्रका स्थानीयलाई प्रस्थान गर्न प्रवेश अनुमतिपत्रको व्यवस्था गरेको छ । कति समयावधिसम्म मेला सञ्चालन गर्ने भन्ने निर्णय चिनियाँ पदाधिकारीहरूले गर्ने गरेका छन् ।मेलाकम चिनियाँ व्यापारीले विशेषगरी मदिराजन्य पदार्थ, सिरक, कम्बल, घरायसी सामान, खाद्यान्न, इलेक्ट्रोनिकलगायत सामान र नेपाली व्यापारीले स्थानीय लोकल उत्पादन, यार्सागुम्बा, खाद्यान्नलगायत सामग्री विक्रीका लागि राख्ने गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!