भुकम्प गएको २५ महिनापछि अनुदान सम्झौता शुरु

Posted on: 17 Jun, 2017

ताराबहादुर महत । असार ३, दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ शैलुङ्गेश्वरमा निजी आवास पुननिमार्ण सम्बन्धि अनुदान सम्झौता शुरु भएको छ ।

भुकम्प गएको २५ महिनापछि हिजोबाट सम्झौता शुरु भएको हो । आज दोश्रो दिनसम्म साविकको शैलुङ्गेवर गाविसको वडा नम्बर १,२,३ र ५ का २ सय १५ घरधुरीसँग अनुदान सम्झौता गरिएको वडा सचिव लालबहादुर गुरुङले जानकारी दिनुभयो । शैलुङ्ग गाउँपालिकाका प्रमुख भरतप्रसाद दुलालले हिजो विधिवत रुपमा अनुदान सम्झौता गरेर शुरु गर्नु भएको थियो ।

शैलुङ्गेश्वरमा १ हजार ४ सय १४ घरधुरीलाई भूकम्प पीडित परिचयपत्र वितरण गरेकोमा ७ सय ७६ जनाको नाममात्रै लाभग्राहीको सूचिमा आएपछि वास्तविक भूकम्प पीडितको नाम छुटेको भन्दै ७ सय ४२ जनाले गुनासो फारम भरेका छन् । गुनासो सम्वोधन हुँदा पनि १ सय ३५ घरधुरी मात्रै लाभग्राहिको सुचीमा थपिएपछि स्थानीयले अनुदान सम्झौताको काम रोकेका थिए ।

यसैविच स्थानीय शान्ती समिति शैलुङ्गेश्वरले लाभग्राहीको सुचीमा ना नपरेका भुकम्प पिडितहरुको क्षतिग्रस्त घर पुनः सर्वेक्षण गरी एक महिना भित्र लाभग्राहिको सुचिमा नाम समावेश गर्न माग राख्दै गाँउपालीकाका प्रमुख भरत दुलाललाई हिजै ज्ञापन पत्र बुझाएको जनाईएको छ । समिति  अध्यक्ष भैरब काफ्लेले साउन २ गते सम्म पनि माग पुरा नभए साउन ३ गते वडा कार्यालयमा ताला लगाउने चेतावनी समेत दिइएको वताउनु भयो ।

त्यसैगरी भुकम्प गएको लामो समय भईसक्दा समेत मेलुङ्ग गाउँपालिका वडा नम्बर ४ अर्थात साविकको भेड्पु गाविसमा गुठी जग्गाको समस्याका कारण अझै अनुदान सम्झौता हुन सकेको छैन । २०७२ को फागुन ३० गते दोलखाको सिँगटीबाट शुरु भएको अनुदान सम्झौता भुकम्प प्रभावित सबैजसो जिल्लाहरुमा भइसकेर आवास निमार्ण सम्पन्न भईसक्दा समेत दोलखाका केहि ठाउँहरुमा हुन नसकेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!