तेह्रथुमको ‘आठराई’, स्थानीय चुनावपछि विकासको आशा

Posted on: 23 Jun, 2017

प्रकाश धौलाकोटी (तेह्रथुम) । शैक्षिक र राजनीतिक रुपले ऐतिहासिक परिचय बनाएको पुर्वी पहाडको सुप्रसिद्ध ठाउँ हो तेह्रथुमको ‘आठराई’ । यहाँ वि.स. १९८७ सालतिरै सुरु भएको शैक्षिक जगमा ००३ सालतिर खुलेका स्कुल र ०१७ सालमा विरेन्द्र इन्टर कलेज नामले खुलेको हालको ‘तेह्रथुम बहुमुखी क्याम्पस’ नै आठराई शैक्षिक रुपमा अगाडि छ भन्ने पहिचान बनेँ । 

ती शैक्षिक संस्थाहरु स्थापना गर्न तत्कालिन यहाँका राजनीतिज्ञहरुले कम मात्र भूमिका खेलेनन् । उनीहरुको त्यही कुटनीतिक क्षमताले नै आठराईलाई राजनीतिक रुपमा पनि अगाडि छ भन्ने परिचय दिलायो । तत्कालिन १० गाउँ विकास समितिको एउटा सुन्दर भुगोल थियो आठराई । 


यहाँको विकासका लागि तत्कालिन अगुवा पन्चायतहरुले पुर्वकै नमुना काम गरे त्यतिवेला । आठराईमा तत्कालिन पन्चायती सरकार र राणा परिवारले पनि डुले, घुमेको र लगानी गरेको इतिहास छ । 

त्यसका प्रमाणका रुपमा स्व.मदन शमशेरको नाममा मदन धारा स्थापना, मदन मेला सन्चालन तथा श्रीमती जगदम्बाको नाममा जगदम्बा दातव्य औषधालय, जगदम्बा अतिथि गृह भवन आदिका भग्नावशेष अहिले पनि छँदैछन् । पछि यहाँको लोक संस्कृतियुक्त मदन मेला, अतिथि गृह र औषधालयले पनि आठराईको परिचय थपे । 

मदन मेला भर्न पुर्वका दर्जन बढी जिल्लाका मानिसहरु आउने गर्थे । औषधालय तेह्रथुम, ताप्लेजुङ र पाँचथरका बासिन्दाको एउटै उपचारको गन्तव्य बनेको थियो । अतिथि गृहले पाहुनालाई सत्कार गरिरह्यो । द्धन्वकालमा औषधालय र अतिथि गृह क्षत्विक्षत् भए । समय परिवर्तनसँगै आठराईको सुन्दर भुगोल सिंगो रहेनँ । र ०३२ सालतिरै तेह्रथुमतर्फ ६ गाविस र ताप्लेजुङतर्फ ४ गाविसका रुपमा टुक्राइयो आठराईलाई । 

अहिले ती नै छ गाविससहित खाम्लालुङ गाविसलाई मिलाएर आठराई गाउँपालिका बनाइएको छ । ऐतिहासिक रुपमा पुर्वकै पुरानो शैक्षिक र राजनीतिक सँगै विकासको ढोका खुलेको यो क्षेत्रले समयअनुसार परिचय बदले पनि रुप फेर्न सकेनँ । त्यतिवेला पुर्वकै नमुना ठाउँको रुपमा कहलिएको ‘आठराई’ भन्ने नाउँ सुन्दा अहिलेपनि धेरैलाई शैक्षिक उद्गम स्थलको हेक्का लाग्छ । तर अहिले आठराईको परिचय उस्तै भएपनि रुपभने डरलाग्दो छ । धेरैलाई लाग्छ त्यतिवेलै त्यति विकसित अहिले त सुविधासम्पन्न होला ? तर वास्तविकता त्यस्तो छैन ।  


अहिले मदन धाराको रुप बदलिएको छ । धारामा बग्ने पानीले सबै स्थानीयको प्यास मेट्दैन । पानी थाप्न लाइन बस्नुपर्छ । एकैदिनमा पानी थाप्ने पालो नआउन पनि सक्छ । आठराई पाँच वर्षअघि मात्रै सडकको डोरोले जोडियो पुर्वी तराईसँग । कच्ची सडक भरपर्दा छैनन्, हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा यात्रा कष्टप्रद हुन्छ । 

अझैपनि सरकारी सेवा सुविधा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छैन । एक वर्षअघि देखि इलाका प्रशासन, मालपोत, नापी कार्यालय खुलेपनि कर्मचारी नबस्दा स्थानीयलाई सास्ती कायम छ । आठराइको मुख्य व्यापारिक केन्द्र सक्रान्तिबजार सम्म हालै विद्युत जडान भएपनि धेरै गाउँ अझै अन्धकार नै छन् । 

एउटा पनि अस्पताल छैन । भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि निरन्तर डाक्टर बस्दैनन् । पर्यटनको राम्रोसँग विकास हुन सकेको छैन । बजार विकास भएको छैन । यहाँ कमाएर यही लगानी गर्दा राम्रो हुन्छ भन्ने विश्वास व्यवसायीलाई पनि छैन । वर्षेनि बसाईसराई बढ्दो छ । तमोर तटीय क्षेत्रमा खानेपानीको उग्र समस्या छ । 

लोक संस्कृति, परम्परा र धार्मिक, सांस्कृतिक महत्व बोकेको यो क्षेत्रले सुरुवातमा जसरी विकासले फड्को मार्न नसक्दा यसरी आफ्नो रुप बदल्न सकेको छैन । त्यसो त आठराईले फेरि पनि नेता भने नजन्माएको होइन । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको जन्मथलो यही हो । पुर्वगृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सभासद तथा कांग्रेस नेतृ सीता गुरुङ, सभासद गणेश विमली लगायत थुप्रै नेता जन्माएको श्रेय आठराईलाई छ ।

 यही जन्मेका नेताले अहिले पनि जिल्ला हाँकिरहेका छन् । त्यसमा पुर्व एमाले जिल्ला अध्यक्ष तेजमान कन्दङवा, माओवादी पोलिट व्युरो सदस्य दुर्गाप्रसाद चापागाई आदि अग्र पंंक्तिमा पर्छ । तर पनि आठराईले आफ्नो आवश्यकता बमोजिम ठुला योजना, ठुल्ठुला बजेटका कार्यक्रमहरु पार्न÷सदुपयोग गर्न सकेनँ ।

निकै लामो इतिहास बोकेको आठराईमा यतिवेला चुनावी रन्को छ । दलहरुले आठराई गाउँपालिकाको समृद्ध भविष्यको सपना देखाउँदै उम्मेदवार घोषणा गरेका छन् । घरदैलो, प्रचार प्रसार र दौडधुप गरिरहेका छन् । 

आठराई गाउँपालिकाको केन्द्रको रुपमा रहेको सक्रान्तिबजार यतिखेर झण्डा, चुनाव चिन्ह र प्रचारका सामाग्रीले रंगीन बन्दैछ । स्थानीयले स्थानीय चुनावपछि आफ्नो ठाउँको विकास हुने रंगीन सपना पनि सजाउन थालेका छन् । लामो समयसम्म सदरमुकामको उपेक्षा सहनुपर्दा विकासमा पछि परेको स्थानीय गुनासो गर्छन् । 

विकासमा पछि परेको, सूचनामा पछि परेको र नजिकका सदरमुकामको उज्यालो हेरेर अन्धकारमा बस्नुपरेको सुनाउँछन् आठराईबासी । यहाँबाट तेह्रथुम सदरमुकाम म्याङलुङ्गभन्दा सडक सुविधाले पाँचथरको फिदिम र ताप्लेजुङको फुङिलङ नजिक पर्छन् । 

यसैले पनि स्थानीयले यसपटकको स्थानीय चुनावलाई महत्वपुर्ण भनेर बुझेका छन् । धेरैले आठराईको विकासलाई दु्रत गति दिनसक्ने नेतृत्व चयन गर्नुपर्छ भनेर अभियान चलाएका छन् । आठराई गाउँपालिका अहिले जनसंख्या र क्षेत्रफल दुवै आधारमा जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह पनि हो । 

सरकारले हालै ल्याएको बजेटमा आठराईले जिल्लाकै सबैभन्दा धेरै बजेट पनि पाएको छ । स्थानीयलाई अहिले त्यही बजेटको सदुपयोग गर्नसक्ने नेतालाई स्थानीय सरकारमा पुर्याउने ध्यान छ । मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेका छन् उनीहरु ।

उनीहरुलाई अब स्थानीय स्तरमै नीत निर्माण गर्ने, बजेट बनाउने कार्यान्वयन गर्ने भएकाले विकासले तीब्र रुपले फड्को मार्ने आशा छ । शिक्षा, चेतना, सामाजिक, व्यवस्थापनमा अघि रहेको यो क्षेत्र शान्त र सुशील पनि छ । यसैले पनि यहाँको विकासकालागि स्थानीय निर्वाचन कोशे ढुंगा सावित हुने स्थानीय बताउँछन् । 

अधिकार सम्पन्न स्थानीय तह भएकाले शिघ्र विकासका योजनाहरु सम्पन्न गर्ने वातावरण बन्ने नेताहरु बताउँछन् । आठराई गाउँपालिका अध्यक्षमा कांग्रेसले नारायणकुमार ईङनाम र एमालेले विष्णुविक्रम कन्दङवालाई उम्मेदवार बनाएको छ । 

अन्य दलले पनि क्रमशः उम्मेदवार घोषणा गरिरहेका छन् । यही सातामात्रै आठराईबारे अन्यत्र मात्रै भनेसुनेका एमाले सचिव योगेश भट्टराईले आठराई घुमेर एमालेका उम्मेदवार घोषणा गर्दै भन्नुभयोे, ‘आठराई आफैमा थुप्रै सम्भावनाले युक्त छ, यहाँको समृद्धिका लागि अब सक्षम नेतृत्व मात्रै आवश्यक छ ।’ 


नागरिक समाजका अध्यक्ष अनिरुद्र तिम्सीना आठराईमा धेरै काम गर्न बाँकी रहेको बताउनुहुन्छ । ‘आठराईले विकास कुरेको धेरे भइसक्यो, अब आफ्नै सरकार गाउँमै बनेपछि छिट्टै विकास हुन्छ कि ? भन्ने अपेक्षा छ, स्थानीय त्रिमोहन माविका प्रअ चिन्तामणि उप्रेतीले भन्नुभयो । उहाँले आठराईबासी मतदातालाई आठराईको समृद्धिको चित्र कोर्न सक्ने नेतृत्व चुन्न सुझाइरहेको बताउनुभयो ।

स्थानीय चुनाव आठराईको विकास र समृद्धिकालागि मुल ढोका भएको कांग्रेस उम्मेदवार ईङनामले बताउनुभयो । उहाँले आफुले आठराईको समृद्धिको खाका आफुले बनाइसकेको भन्दै त्यस अभियानको नेतृत्व आफुलाई दिन आग्रह गरिरहेको बताउनुभयो । 

एमाले उम्मेदवार कन्दङवाले पनि आफुले बनाएको समृद्धिको मार्गले आठराईले छिट्टै रुप फेर्ने दाबी गर्नुभयो । उहाँले पनि आठराईको सिघ्र समृद्धिकोलागि आफुलाई नेतृत्व गर्ने अवसर दिन भनेको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!