सिधुवा–शुक्रबारे सडक मर्मतमा गाउँपालिकाको चासो

Posted on: 07 Jul, 2017

असार २३, तेह्रथुम । छथर गाउँ कार्यपालिकाले पुर्वी तराई तथा सदरमुकाम म्याङलुङ्गसँग जोड्ने सिधुवा–शुक्रबारे सडक मर्मत तथा स्तरोन्नतिको विषयमा चासो देखाएको छ । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गर्दै विहीबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले वर्षाका कारण हिलाम्मे भएर अवरुद्ध बनेको सडक खुलाउन पहल गर्ने निर्णय गरेको हो । 

सडक हिलाम्मे हुँदा विरामी बोक्ने एम्बुलेन्स, दुध बोक्ने गाडी देखि मानिसहरुलाई आवत् जावत् गर्न समेत समस्या भएको भन्दै कार्यपालिकाले सडक मर्मत र स्तरोन्नतिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको अध्यक्ष सन्तविर तिगेलाले बताउनुभयो । ‘सडक अवरुद्ध हुँदा छथरबासीले धेरै दुःख पाएका छन्, तुरुन्तै कम्तिमा साना सवारी गुड्नेसम्म सडक खुलाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

सडकका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्राविधिक र कामको जिम्मा लिएको ठेकेदार कम्पनीबीच छलफल गरेर सडकको काम अघि बढाउने निर्णय भएको कार्यकारी अधिकृत गोरखनाथ मिश्रले बताउनुभयो ।

यस्तै कार्यपालिकाको पहिलो बैठकले वृद्ध भत्ता बैंक मार्फत वितरण गर्दा पहिले भन्दा सास्ती भएको भन्दै आगामी साउनदेखि गाउँपालिकाबाटै भत्ता वितरण गर्ने, गाउँपालिकाको आर्थिक कारोबार सहज बनाउन सरकारी कारोबारलाई व्यवस्थित गर्न कृषि तथा अन्य व्यवसायिक क्षेत्रमा कर्जाको सरल र सहज पुहँच पु¥याई आर्थिक विकास र वित्तीय पहुँचलाई बढाउन बैंक स्थापनामा पहल गर्ने, विपद व्यवस्थापन कार्ययोजना तयार गर्ने लगायत निर्णय गरेको अध्यक्ष तिगेलाले बताउनुभयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!