दुई दिनदेखि बन्द बिन्ध्यवासिनी ताथलीको बाटो खुल्यो

Posted on: 08 Jul, 2017

असार २४, भक्तपुर । स्थानीय एक व्यक्तिले बन्द गरेको चाँगुनारायण– ९, ताथलीको बिन्ध्यवासिनी मार्ग जाने बाटो दुई दिनपछि शुक्रबार खुलेको छ । 

नापी नक्सामा नभएको भन्दै स्थानीयवासी राम खड्काले बाँसको छेकवार लगाएर बन्द गरेको सो बाटो स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय भद्रभलादमीको रोहवरमा बाँसको अवरोध हटाएर बाटो खोलिएको हो । 

बाटो खुलाउने क्रममा सामान्य वादविवाद समेत भएको स्थानीय हरिसुन्दर छङ्ुकाले बताउनुभयो । सञ्चारकर्मी समेत रहनुभएका छुङ्काले एक दशकदेखि सार्वजनिक रुपमा प्रयोग भइरहेको सो बाटो अहिले आएर एका÷एक नापी नक्सामा नभएको भन्दै बन्द गर्नु गलत भएको बताउनुभयो । 

सो बाटो बन्द हुँदा ताथलीको खड्का डिल, दलित टोल, बाला टोल, राउत टोलका बासिन्दा प्रभावित भएका थिए । सो मार्ग च्याम्हासिँह–नाला सडकमा जोडिएको सहायक सडक पनि हो । 

बर्खायाममा आवतजावत गर्न तथा सवारी आवागमन सहज बनाउन स्थानीय उपभोक्ताले गत बुधबार ग्राभेलिङ गरेपछि खड्काले सो बाटो बन्द गरेका थिए । सो बाटोको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । सर्वोच्चले सो बाटो यथास्थितिमा राख्नु भन्ने आदेश दिएको तर स्थानीयवासीले सो आदेश विपरित ग्राभेलिङ गरेपछि आपूले बाँस तेर्साएर बाटो बन्द गरेको खड्काले बताउनुभयो । 

खड्काले बाटो बन्द गरेपछि स्थानीयवासीको अनुरोधमा वडा अध्यक्ष गणेश त्यातले प्रहरीको रोहवरमा स्थानीयवासीको उपस्थितिमा अवरुद्ध बाटो खुलाउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!