जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध

Posted on: 11 Jul, 2017

असार २७, गौशाला । महोत्तरी जिल्लामा तीन/चार दिनदेखि अविरल परेको पानीका कारण जिल्लाको मुख्य बाटो जलेश्वर– जनकपुर सडकखण्ड फेरि अवरुद्ध भएको छ । 

रातदिन लगातार परेको भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायत बाटो पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि ती बाटामा यातायात पुनः ठप्प भएका छन् । 

जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनी पानी जमेर यातायातका सबै साधन ठप्प भएका छन् । 

सबै बाटामा खाल्डाखुल्डी बनी पानी जमेर यातायातका साधन फस्ने र दुर्घटना हुने सम्भावना बढेका कारण जिल्लाका सबै बाटा आज बिहानैदेखि पुनः बन्द भएका छन् । 

वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटामा बस, जिप, ट्यांकर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था पनि छैन । जिल्लाका रातु, जंघा, मरहा, अङ्कुशी, मरहा, भब्सी, बाँकेलगायत नदीमा पनि बाढी आएका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!