पोखरा–लेखनाथ महानगरको बजेट चार अर्ब

Posted on: 13 Jul, 2017

असार २९, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । 

कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ । 

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै महानगरका सबै टोलका सडकमा सोलार बत्ती जडान गरी ‘हाम्रो नगर उज्यालो शहर’ अभियानलाई सफल पार्ने बताउनुभयो । 

बर्सेनि विश्व ज्येष्ठ नागरिक दिवसका दिन महानगरका सबैभन्दा ज्येष्ठ महिला र पुरुषलाई महानगर माता र महानगर पिताका रुपमा सम्मान गरिने बताउनुभयो । 

महानगरभित्रका ग्रामीण बस्तीमा ‘एक घर एक धारा’को व्यवस्था गर्नुका साथै व्यस्त क्षेत्र तथा सार्वजनिकस्थलमा धाराबाट सोझै पिउन मिल्ने शुद्ध पानीको व्यवस्था गर्न पहल गरिने जिसीले बताउनुभयो । 

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!