बेनी र अन्नपूर्णको बजेट सार्वजनिक

Posted on: 15 Jul, 2017

असार ३१, म्याग्दी । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले आव २०७४÷७५ का लागि विनियोजित बजेट शुक्रबार सार्वजनिक गरेका छन् । 

बेनीमा आयोजित प्रथम नगरसभामा उपप्रमुख सञ्जु बरुवालले रु ३७ करोड ७८ लाख ८६ हजार बजेट विनियोजन भएको जानकारी दिनुभयो । चालुतर्फ रु २२ करोड ३० लाख ८६ हजार र पूँजीगततर्फ रु १५ करोड ४८ लाख विनियोजन भएको छ । 

नगर प्रमुख हरिकुमार श्रेष्ठले बेनीदेखि दशवटै वडासम्म पक्की सडक, आधारभूत खानेपानी सुविधा, फोहर विस्थापनस्थल निर्माण, विपद् व्यवस्थापन, कृषि, पर्यटन, व्यापार प्रवद्र्धन, कला, संस्कृति र ऐतिहासिकस्थलको संरक्षणमा जोड दिइएको बताउनुभयो । 

एकीकृत सम्पत्ति कर लागू गर्ने नीतिगत निर्णय गरेको नगरपालिकाले व्यवसाय, घरभाडा र सवारी करका लागि लगत संकलन गर्ने भएको छ । ‘एक वडा एक उत्पादन’, रावण उद्यान निर्माण र ‘एक घर एक बिरुवा’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

नगरपालिकामार्फत सञ्चालन हुने पूर्वाधार योजनामा १५ प्रतिशत नगद र १५ प्रतिशत श्रमदान सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । 

यसैगरी जलविद्युत्मैत्री वातावरण निर्माण, पर्यटन र कृषिसम्बन्धी योजना तथा कार्यक्रमलाई प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाले आगामी आवका लागि रु २३ करोड २९ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले केन्द्र सरकारले वित्तीय समानीकरणमा रु १४ करोड चार लाख र सशर्त अनुदानतर्फ रु आठ करोड २१ लख ९३ हजार अनुदान उपलब्ध गराउने, रु ४४ लाख ६५ हजार आन्तरिक आय र रु दश लाख जनसहभागिताबाट जुटाइने जानकारी गराउनुभयो । 

प्रत्येक वडामा सुत्केरी तथा गर्भवतीको सहयोगका लागि रु ५० हजारका दरले आकस्मिक कोष स्थापना गरिने छ । प्राविधिक विषय अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत अनुदान र ८० वर्षभन्दा माथिका नागरिकलाई चाडपर्व मनाउन वार्षिक रु पाँच हजार उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ । 

गाउँपालिकामा आठ वटा वडा छन् । जलविद्युत्, पर्यटन र कृषिको विकासमार्फत गाउँपालिकालाई समृद्ध र विकसित बनाउने परिकल्पनासहित योजना, नीति तथा कार्यक्रम र सोअनुसार बजेट ल्याइएको अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । 

धौलागिरि आधार शिविर पदमार्ग 

संसारको साताँै अग्लो हिमाल धौलागिरि (८,१६७ मिटर) को आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । धौलागिरि गाउँपालिका–४ बगराका बासिन्दाले विभिन्न निकायको अनुदान सहयोगमा करिब तीन किमी पदमार्ग निर्माण गरेका हुन् । 

नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय पोखरा र साबिक मुदी गाविसको रु १३ लाख ५० हजार सहयोगमा छुट्टाछुट्टै ठाउँमा पदमार्ग निर्माण गरिएको बगराका अगुवा हरिप्रसाद तिलिजाले जानकारी दिनुभयो । 

पर्यटन बोर्डको रु सात लाख सहयोगमा धौलागिरि चक्रीय पदमार्गअन्तर्गत राचिस–चौरवन खण्डमा दुई हजार ३०० मि बाटो निर्माण भएको छ । नयाँ बाटो खन्ने, सिँढी बनाउने र पर्खाल लगाउने काम गरिएको छ । 

पर्यटन कार्यालय पोखराको रु पाँच लाख सहयोगमा दाप्चादेखि दोभान खण्डको भीरमा २०० मि, साबिक मुदी गाविसको रु एक लाख ५० हजार सहयोगमा काठका तीन अस्थायी पुल र २०० मि पदमार्ग निर्माण भएको तिलिजाले बताउनुभयो । 

राचिस–चौरवन खण्डको भिरको उकालो र घुमाउरो बाटोको विकल्पमा नयाँ छोटो पदमार्ग निर्माण भएको छ । नयाँ पदमार्ग निर्माण भएपछि एक घण्टाको बाटो छोटिएको योजनाको अनुगमन तथा मूल्यांकनमा जानुभएका जिल्ला समन्वय समितिका इञ्जिनियर कृष्ण रिजालले बताउनुभयो । 

पदमार्गको चौडाइ १.५ देखि दुई मिसम्म फराकिलो छ । पदमार्ग निर्माण भएपछि धौलागिरि चक्रीय पदमार्गको भ्रमण तथा आरोहणका लागि आउने पर्यटक, पथप्रदर्शक, पर्यटन मजदुर र स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । 

मुदी बगरादेखि तीन दिनको पैदलयात्रापछि पुगिने आधार शिविरसम्म जाने अन्य धेरै ठाउँमा नयाँ पदमार्ग र दश झोलुङ्गे पुलको आवश्यकता छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!