नाफा बढाउँदै एनआईसी एसिया बैंक, शाखा बिस्तारमा पनि तीव्रता दिँदै

Posted on: 20 Jul, 2017

साउन ५, काठमाडौँ | एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैँकले यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा  ३८ प्रतिशतले बढीले नाफा आर्जन गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो ।

निक्षेप संकलनमा अब्बल

एनआईसी एसियाले गत आर्थिक वर्षमा ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षमा ६९ अर्ब करोड निक्षेप संकलन गरेको थियो । हाल ६ अर्ब ६९ करोड २५ लाख चुक्ता पुँजी रहेको बैंकले कर्जा परिचालनमा पनि २२ दशमलव ४६ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा ७१ अर्ब ५८ करोड कर्जा परिचालन गरेको बैंकले गते आर्थिक वर्षमा ५८ अर्ब ४५ करोड कर्जा लगानी गरेको थियो । 

नाफामा वृद्धि

गत वर्ष बैंकले १ अर्ब ६९ करोड सञ्चालन नाफा कमाएको छ । जुन अघिल्लोे आर्थिक वर्षभन्दा २३ दशमलव ४३ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षमा १अर्ब ३६ करोड कमाएको थियो ।

खराब कर्जा घट्यो

बैंकको पुँजी कोष अनुपात गत आर्थिक वर्षमा १३ दशमलव ९५ प्रतिशत रहेको छ । बैंकले गत आर्थिक वर्षमा खराब कर्जा अनुपात एक वर्षमा शून्य दशमलव ३६ प्रतिशतमा झारेको छ । गत वर्ष बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ७६ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ ।

शाखा सञ्जालमा पनि अगाडि

यस बैँकका हालसम्म ११९ वटा शाखा, ४ विस्तारित काउन्टर, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउन्टरको सञ्जालमार्फत आफ्ना सेवा प्रदान गरिरहेको बैंकले चालू आर्थिक वर्षभित्र शाखा संख्या २००, एटीएम संख्या ४०० भन्दा बढी, शाखारहित बैंकिङ सेवा २०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पे आउट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने लक्ष्य लिएको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्म ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ भने आफ्ना शेयरधनीलाई ५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी लाभांश वितरण गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!