जुम्लाका सरकारी कार्यालयले ७१ करोड फिर्ता पठाए

Posted on: 21 Jul, 2017

नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्लाका सरकारी कार्यालयहरुले ७१ करोड भन्दा बढि रकम खर्च गर्न नसकेर फिर्ता पठाएका छन् । 

आर्थिक वर्ष २०७३/०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ७१ करोड २२ लाख ६९ हजार ६ सय ६ रुपैया जुम्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेर रकम फ्रिज गएपछि फिर्ता पठाएका हुन् । 

जुम्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको खुद बजेट ५ अर्बं ३५ करोड ११ लाख ९ हजार ३ सय ९९ रुपैया मध्य असार मसान्तसम्म ४ अर्ब ६३ करोड ८८ लाख ३९ हजार ७ सय ९३ रकम खर्च भएको हो ।           

आर्थिक वर्ष २०७३/०७४ का लागि जुम्लाका सरकारी कार्यालयहरुले प्राप्त गरेको कुल बजेटको यस बर्ष ८६ दशमलब ६९ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फ ९२ दशमलब ७७ प्रतिशत र पुँजिगत तर्फ ७५ दशमलब ३१ प्रतिशत बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक विश्व प्रसाद अर्यालले बताउनुभयो ।

 जसमा चालु तर्फ प्राप्त भएको खुद बजेट ३ अर्ब ४८ करोड ७९ लाख ९२ हजार ८ सय ३९ रकम मध्य ३ अर्ब २३ करोड ५७ लाख ४ हजार ४ सय ८८ रकम खर्च भएको छ । 

पुँजिगत तर्फ प्राप्त भएको खुद बजेट १ अर्ब ८६ करोड ३१ लाख १६ हजार ५ सय ६० रकम मध्य १ अर्ब ४० करोड ३१ लाख ३५ हजार ३ सय ४ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।       

 जिल्लाका अधिकाँश सरकारी कार्यालय समयमा कर्मचारी नबस्ने, उपभोक्ताले काम पनि ढिलो गर्ने तथा ठुलो परिमाणको बजेट पनि आर्थिक वर्ष सकिने बेला केन्द्रबाट आउने गरेकाले बजेट खर्च हुन नसकेर फिर्ता जाने गरेको प्रमुख कोष नियन्त्रक अर्यालको भनाइ छ ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!