बाढीबाट माडीका २१६ घर क्षति (विवरणसहित)

Posted on: 24 Aug, 2017

भदौ ८, चितवन । दक्षिण चितवनको माडीमा साउन अन्तिम साता आएको बाढीले २१६ घरमा क्षति पु¥याएको पाइएको छ । 

क्षतिको विवरण संकलनपछि माडी नगरपालिकाले दिएको जानकारी अनुसार करिव आठ सय बिगाहा क्षेत्रको जमिन भने कटान र डुवानबाट प्रभावित भएको छ । 

डुवानले अधिकाँश धानबालीमा क्षति पु¥याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति भएका २१६ घरमध्ये १०५ घर पूर्ण र १११ घरको आँशिक क्षति भएको पाइएको छ । 

पूर्ण क्षति भएकाहरुमध्ये केहीलाई छिमेकको घरमा बस्ने व्यवस्था मिलाइएको र केहीलाई विभिन्न सामुदायिक भवन र रेडक्रम भवनमा बस्ने व्यवस्था गरिएको छ । 

माडीको बाँदरझुलास्थित सामुदायिक भवनमा बाढीपीडितलाई राखिएको छ । यस्तै, गोविन्दबस्ती र प्याउलीका पीडितहरुलाई गाउँलेको घरमै राख्ने व्यवस्था गरिएको छ । उनीहरुका लागि रेडक्रस भवनमा सामूहिक खानाको प्रबन्ध गरिएको नगर प्रमुख ढकालले जानकारी दिनुभयो । 

कतिपयका घर र जमिनहरु नामोनिशाना नै नरहने गरी बगाएर लगेको उहाँले बताउनुभयो । आंशिक क्षति भएकाहरुलाई भने बाहिर सामूहिक खानाको व्यवस्था गरी सुत्नलाई आफ्नै घर प्रयोग गर्न भनिएको थियो । 

साउन २८ गतेको अविरल बर्षापछि आएको बाढीले माडीको वनकठ्ठा, अमिलिया, सिमरा, धोवाह, रतनी, बाँदरझुला, प्याउली, गोविन्द बस्ती लगायत क्षेत्रलाई प्रभावित गरेको थियो । ठाडा खोला र रिउ नदीमा आएको बाढीले यसरी क्षति पु¥याएको हो । 

माडीका स्थानीयवासी गोविन्द न्यौपानेले अहिले राहत वितरणको काम चलिरहेको र चाँडै नै यहाँका बाढी प्रभावितलाई आवासको व्यवस्थापन जरुरी भएको बताउनुभयो । नगरपालिकाका अनुसार आएका अधिकाँश राहत सामग्री समन्वय गरी वितरण भैरहेको छ । 

दशको वन्यजन्तुको मृत्यु, अठार बगे 

बाढीका कारण नेपालका विभिन्न संरक्षित क्षेत्रका १० वटा वन्यजन्तुको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । बाढीका कारण १८ वटा कृष्णसार बेपत्ता भएका छन् । तीन वटा कृष्णसार र ४ वटा गैंडाको भने उद्धार गरिएको छ । 

विभागका महानिर्देशक मनबहादुर खड्काले साउन २८ गते आएको बाढीका कारण चित्तल र रतुवा मृग छ वटा, कृष्णसार दुई वटा तथा दुई वटा गैंडाको मृत्यु भएको जानकारी दिनुभयो । 

आज दिनुभएको जानकारी अनुसार बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षित क्षेत्रका १८ वटा कृष्णसार बगाएको, २ वटा मरेको र ३ वटाको उद्धार गरिएको छ । यता, चितवन निकुञ्जमा दुई वटा गैंडा, छ रतुवा मृग र चित्तल गरी ८ वटा मरेको सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

नेपालका संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षित क्षेत्रमा बाढीले ठूलो नोक्सान गरेको छ । चितवन निकुञ्जमा मात्रै विभिन्न सुरक्षा पोष्टहरुमा गरेर रु २ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको महानिर्देशक खड्काको भनाइ छ । 

अर्ना सुरक्षित रहेको र बाह्रसिंगा भने झाडी बढेकाले राम्ररी नदेखिएको उहाँले बताउनुभयो । चितवन निकुञ्जबाट बगाएर भारत पु¥याएका ४ वटा गैंडाको उद्धार गरिसकिएको र एउटा गैंडा भारतमा देखिएकाले उद्धारका लागि प्रविधिज्ञसहितको ५० जनाको टोली खटिएको महानिर्देशक खड्काले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!