घाटलाई पानी

Posted on: 27 Aug, 2017

भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयोग गरेको छ । 

नगरपालिका–७ र ८ का मानिसको मृत्यु भएपछि पानीको समस्याका कारण दाहसंस्कारमा नै कठिनाइ हुँदै आएको थियो । लगभग एक हजार घरधुरीभन्दा बढीले प्रयोग गर्दैै आएको घाट भए पनि पानीको समस्याका कारण चिता धुन समेत कठिन थियो । 

पानी ट्यांकीको उद्घाटन गर्दै सभासद् रामेश्वरप्रसाद ढुंगेलले स्थानीय समुदायको अग्रसरताले नै समुदायको विकास हुने बताउँदै आफूले खानेपानी व्यवस्थापनमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । 

केन्द्रले हाललाई दुई हजार लिटरको पानी ट्यांकी, पानीका लागि मूलदेखि घाटसम्म खानेपानीको पाइप विस्तार र घाटमा आउनेका लागि नुहाउने धारा गरी रु ५० बराबरको सहयोग गरेकोे केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेल, जिल्ला कार्यसमिति सदस्य हरिप्रसाद नेपाल, काँग्रेसका नेता राजाराम खड्का, नगरपालिकाका नगर सभापति यादव अधिकारी, वडा नं ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटालगायतले समाज विकासका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । रासस (फाइल फोटो)


यस बिषयमा तपाइको प्रतिक्रिया...!