बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु

Posted on: 03 Sep, 2017


लोकेन्द्र प्रशाद जोशी/भदौ १८, दार्चुला । नेपाल विद्युत प्राधिकरणले बलाँच–अत्तरिया १३२ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण आइतबारबाट सुरु गरेको छ । 

दक्षिण कोरिया सरकारको ऋण लगानीमा निर्माण सम्पन्न १ सय ३१ किलोमिटर लामो प्रसारण लाइन र बलाँचस्थित सबस्टेसनको परीक्षण सुरु गरेको हो ।

सन् २०१४ मा सम्पन्न हुनुपर्ने प्रसारण लाइन आयोजना ३ वर्ष ढिला गरी संचालनमा आउन लागेको छ । प्रसारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली यसअघिनै दार्चुला पुगेको थियो ।

प्रसारण लाइनको डबल सर्किट टावर राखिएपनि सिङ्गल सर्किट लाइन मात्रै जोडेर संचालन गर्न लागिएको हो । आयोजनाका अनुसार डबल सर्किट लाइन जोड्ने काम चालु आर्थिक वर्षबाट सुरु हुँदैछ । प्रसारण लाइनको परीक्षण अत्तरीयाबाट शुरु भएको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो । 

यो प्रसारण लाइन संचालनमा आएपछि सुदुरपश्चिममा निर्माणाधीन ३० मेगावाटको चमेलिया, ८६ मेगावाटको चमेलिया छत्तिगाड, ४० मेगावाटको माथिल्लो चमेलिया, ५४ मेगावाटका कालंगागाड आयोजना, ८ दशमलव ५ मेगावाटको नौगाड लगायत २ सय मेगावाट बराबरका आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिनेछ  ।

बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा


निर्माण सक्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थियो । 

सुरुमा आठ अर्ब ५० करोडमा निर्माण गरिसक्ने अनुमान गरिएको आयोजनाको लागत दोब्बर अर्थात साढे १५ अर्ब पुग्ने देखिएको छ । ३० मेगावाट क्षमता रहेको सरकारको पूर्ण लगानीमा निर्माण भइरहेको यो आयोजना सुदूरपश्चिमको ठूलो आयोजना हो । निर्माणको काम सुरु हुँदा कम लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि भौगोलिक कठिनाइ, पूर्वाधार विकासको कमी लगायतले आयोजनाको लागत बढेको आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

अब काम अन्तिम चरणमा पुगेकाले दार्चुलाको बलाँचमा निर्माणाधिन रहेको चमेलिया जलविद्युत आयोजनाले आउँदो अक्टोबर महिनाको दोस्रो हप्ता परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ । सबै मेसिनको परीक्षण गरिसकिएकाले आउँदो अक्टोबरको दोस्रो हप्ता विद्युतको परीक्षण उत्पादन सुरु गरिने आयोजना प्रमुख अजय दाहालले बताउनुभयो ।

आयोजनाको सिभिलको काम चाइना गेजुवा ग्रुप अफ कम्पनी सिजिजिसीले गरिरहेको छ भने इलेक्ट्रोनिक, हाइटेन्सन र ट्रान्समिसनको काम कोरीयनले कन्ट्याक्टरले गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!