म्याङलुङ नगरपालिकाको बजेट साढे पाँच करोड बढी

Posted on: 15 Jan, 2016

manglung bajet

प्रकाश धौलाकोटी । माघ १, तेह्रथुम । नगर क्षेत्रको पर्यटन प्रवद्र्धन र पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै तेह्रथुमको म्याङलुङ नगरपालिकाले साढे पाँच करोड बढीको नगर विकास योजना विहीबार सार्वजनिक गरेको छ ।

नगरपालिकाको तेश्रो नगर परिषद तथा आगामी आर्थिक वर्षकोे बजेट, निति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यकारी अधिकृत सुरेन्द्र थापामगरले आ.व.२०७३/७४ का लागि ५ करोड ८३ लाख ५४ हजारको बजेट तथा कार्यक्रम सार्वजानिक गर्नुभएको हो । बजेटमा नगर क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि बजारको फोहोरमैला र बसपार्क व्यवस्थापन, पोखरी सहितको पार्क निर्माण, छेलेडाँडा भ्यू प्वाइन्ट, राष्टिय विभुति फाल्गुनन्दको स्तम्भ निर्माण, सिमिनाक्सी मन्दिर व्यवस्थापन, मध्यपहाडी लोकमार्गमा लालीगुराँस वृक्षरोपण र जिरिखिम्ती सिमीनाक्सी मन्दिर हुदै संखुवासभाको चौकीबजार पर्यटकीय मार्ग निर्माणलाई विशेष प्राथमिकतामा राखिएको छ । यस्तै नगरपालिकाको भवन निर्माण, बालमैत्री नगरपालिका घोषणा, ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण लगायतका योजनाहरु पनि प्राथमिकतामा राखिएको छ ।

कुल प्रस्तावित बजेटमध्ये ५९ लाख ५९ हजार चालु खर्च, ३ करोड ८० लाख ७ हजार पँुजीगत खर्च र १ करोड ४३ लाख ८८ हजार सामाजिक सुरक्षा तर्फ विनियोजन गरिएको छ । यस्तै भौतिक पुर्वाधारतर्फ ३५ लाख, प्रवद्र्धनात्मक क्षेत्र तर्फ २४ लाख र लक्षित वर्गमा महिलाकालागि १० लाख, बालबालिकाकालागि १५ लाख र आदिवासी, दलित, अपांगकालागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत मगरले चालु आर्थिक वर्षको ५ करोड ५२ लाख ९८ हजार ३ सय ९८ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सभासद भवानीप्रसाद खापुङले नगरवासीका असीमित इच्छा र आकांक्षालाई सम्बोधन गर्न नगरको सीमित श्रोत, साधनले नभ्याउने भएपनि समावेशी तवरले नगरको विकासमा लाग्न शुभकामना दिनुभयो । कार्यक्रममा पुर्व सांसद तेजमान तुम्बाहाम्फे, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, स्थानीय शान्ति समितिका सयोजक देउनारायण सम्बाहाम्फे, देउराली सोसाइटीका अध्यक्ष दिनेश खनाल, उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्ले, संचारकर्मी नरेश ढुंगाना र अन्तरपाटी महिला संजालका अध्यक्ष बसन्ती गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!