पाल्पामा स्थानीयवासीको सहयोगमा प्रहरी भवन निर्माण

Posted on: 10 Sep, 2017

भदौ २५, पाल्पा। स्थानीयवासीको सहयोगमा पाल्पामा प्रहरीको भवन निर्माण भएको छ । ८६ व्यक्ति तथा संस्थाको आर्थिक तथा भौतिक सहयोगमा तानसेन नगरपालिकाको बर्तुङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन बनेको हो । 

स्थानीय बासिन्दाको आर्थिक तथा भौतिक गरी रु २३ लाख २९ हजार ४८३ को सहयोगमा निर्माण भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो । 

भवन निर्माणमा तानसेन नगरपालिका–१० का गोपाल पौडेलले रु एक लाख १२ हजार २२२ बराबरको जिन्सी सामान सहयोग, श्रीनगर यातायात व्यवसायी संघ पाल्पाले रु एक लाख ११ हजार १११, जिल्ला प्रहरी कार्यालयले रु एक लाख, जिल्ला समन्वय समिति पाल्पाले रु एक लाख र पाल्पाका स्थानीय तहबाट समेत आर्थिक सहयोग प्राप्त भएको हो । 

त्यसैगरी, नवलपरासीका भरत थापाले रु ५५ हजार, तानसेनका सुजन श्रेष्ठले रु ५१ हजार, बगनासकाली–३ का रिजाल हार्डवेयरले ४२ हजारलगायत ८६ व्यक्ति तथा संस्थाबाट आर्थिक तथा भौतिक सहयोगबाट प्रहरी सुविधा सम्पन्न भवन बनेको उपभोक्ता समितिका अध्यक्ष ताराप्रसाद रानाले बताउनुभयो । 

दुईतले, पाँच कोठासहितको पक्की भवन बनेपछि प्रहरीलाई कार्यसम्पादनमा सहज भएको छ । सवारी साधन दैनिक रुपमा बढ्दै गए पनि ट्राफिक प्रहरीको संख्या भने कमी रहँदा कार्यसम्पादनमा समस्या रहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!