पहिलो सन्तान छोरी जन्माउनेलाई तीन हजार !

Posted on: 10 Sep, 2017

भदौ २५, विराटनगर | विराटनगर महानगरपालिकाले आइतबार चालु आवका लागि तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । 

आव २०७४/०७५ का लागि महानगरपालिकातर्फ एक अर्ब ७४ करोड ८९ लाख २१ हजार रुपैयाँ, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय विकास परियोजनातर्फ एक अर्ब ६४ करोड रुपैयाँ गरी तीन अर्ब ३८ करोड ८९ लाख २१ हजार रुपैयाँको अनुमानित बजेट पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ दीर्घकालीन सोचका साथ समानुपातिक विकासको अभियानलाई मूर्तरुप दिने उद्देश्यले बजेट तयार गरिएको बताउनुभयो । 

बजेटमा समानुपातिक र संस्थागत विद्यालयको समानताका लागि नमूनाको रुपमा विकास गर्न क्षेत्रगत रुपमा उत्तरी र दक्षिणी गरी एक÷एक सामुदायिक विद्यालय र मदरसासमेत गरी तीनवटा विद्यालयमा ५० लाख रुपैयाँका दरले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी, ‘छोरी बचाउ अभियान’ अन्तर्गत पहिलो छोरी जन्माउने अभिभावकलाई तीन हजार रुपैयाँ, ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सामाजिक भत्तामा मासिक थप एक हजार रुपैयाँ दिने उल्लेख गरिएको छ । 

यसका साथै निर्माणमा सहजताका लागि आफ्नै स्वामित्वमा रोलर र ग्रेडर खरिद गर्न दुई करोड रुपैयाँ, नहरलाई बाइपासको रुपमा विकास गर्न एक करोड रुपैयाँ, बहुउद्देश्यीय पार्क निर्माण गर्न र वडा नं ३ को घोघापैनी निर्माण गर्न एक÷एक करोड रुपैयाँ र स्लाब हाल्न १५ वटा वडालाई २०÷२० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी, ऐतिहासिक विराट राजाको दरबार क्षेत्रका लागि ४० लाख रुपैयाँ र एकीकृत बस्ती विकास परियोजना सञ्चालन गरी सुकुम्बासी तथा खोला छेउका घरपरिवारलाई व्यवस्थापन गर्ने लगायतका योजना सार्वजनिक गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!