तेह्रथुममा वडा र सहकारीलाई रु ४४ लाखको जग्गादान

Posted on: 13 Sep, 2017

भदौ २८, तेह्रथुम। तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ । 

अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । उपलब्ध भएको जग्गालाई नापजाँच गरी कार्यालयको भवन निर्माण प्रक्रिया शुरु गर्ने वडाध्यक्ष कन्दङवाले बताउनुभयो । 

यस्तै, आठराई गाउँपालिका–६, चुहानडाँडामा रहेको चुहानडाँडा बचत तथा ऋण सहकारी संस्थालाई पनि कम्पनीका सदस्य सिटौलाले आठआना जग्गादान गर्नुभएको छ । सहकारीको कार्यालय भवन निर्माणका लागि करिब रु १२ लाख बराबरको जग्गादान गर्नुभएको सहकारी संस्थाका सचिव परशुराम तिवारीले जानकारी दिनुभयो । 

सहकारीलाई प्राप्त भएको जग्गामा भवन बनाउन स्रोत खोजिने संस्थाका सचिव तिवारीले बताउनुभयो । अर्पेट एण्ड कम्पनीले आठराईमा जग्गा खरिद बिक्रीको कारोबार गर्दै आएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!