बागलुङमा सुरु भयो बीस प्रजातिका जडीबुटीको कारोबार

Posted on: 14 Sep, 2017

भदौ २९, बागलुङ। जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ । 

साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ । 

सबैभन्दा बढी ६७ हजार ३९० किलो सल्लाको खोटोको कारोबार भएको सहायक वन अधिकृत रामबहादुर विकले जानकारी दिनुभयो । सातवटा सामुदायिक वनमा भएको खोटो संकलनबाट उपभोक्ता समूहले रु आठ लाख ९० हजार आम्दानी गरेका छन् । खोटो संकलन र त्यसको कारोबारबाट रु एक लाख २७ हजार राजश्व संकलन भएको विकले बताउनुभयो । 

यस्तै जिल्ला समन्वय समिति करबापत रु ३६ हजार प्राप्त भएको छ । जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको छ । खोटोको कारोबारको लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको छ । ती कम्पनीले आव २०६७/६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदावर सूचीकृत छन् । 

“संकलन र प्रशोधन अभावमा बहुमूल्य जडीबुटी त्यसै खेर गइरहेका छन्,,” विकले भन्नुभयो– “यहाँको जंगलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र संकलन हुन सकेको छैन ।” उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । 

आव २०७२/७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटीको कारोबार हुँदा रु एक लाख २८ हजार राजश्व संकलन भएको थियो । इजाजत पत्र लिएपछि वन कार्यालयले संकलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रमअन्तर्गत वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!