पोखराको न्यूरोडमा सुविधासम्पन्न ग्यालेरी

Posted on: 14 Sep, 2017

भदौ २९, पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ न्यूरोडमा सुविधासम्पन्न मिड टाउन ग्यालेरी सञ्चालनमा आएको छ । 

उत्तम व्दालगायतका व्यवसायीको रु २८ करोडको लगानीमा निर्माण भएको सो ग्यालेरीमा दुईवटा चलचित्र मन्दिर ‘मिड टाउन सिनेमाज’ सञ्चालनमा आइसकेका छन् । 

ग्यालेरीमा ३० वटाभन्दा बढी ब्राण्डका १४ वटा व्यावसायिक प्रतिष्ठानले ब्राण्डेड सामानको पसल पनि शीघ्र सञ्चालनमा ल्याउने आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष व्दाले बताउनुभयो । 

एप्पलका लागि आधिकारिक विक्रेता इभो स्टोर, ब्राण्डेड लुगाको विक्रेता वोसिनी, कस्मेटिक सामग्रीको वडी सप, कन्भर्स र भान्स जुत्ता कम्पनीलगायतका ब्राण्डेड सामानको शोरुम यस ग्यालेरीमा सञ्चालन हुने छन् । 

स्तरीय रेस्टुरेन्ट, कफी सप, एटिएम लाउन्ज, ब्यूटी सलुनले पनि ग्यालेरीको आकर्षण बन्ने छ । पर्याप्त पार्किङ तथा निःशुल्क वाइफाईको सुविधा उपलब्ध भूकम्प प्रतिरोधी यस भवनमा सुरक्षालाई ध्यानमा राखेर अग्नि नियन्त्रण यन्त्र पनि जडान गरिएको छ । हजुरबुबा जितप्रसाद व्दाले अगाडि बढाएको चलचित्र उद्योगमा व्दा परिवारले निरन्तरता दिँदै आएको छ । व्दा परिवारका यसअघि पनि पाँचवटा चलचित्र हल सञ्चालन भइरहेका छन् । पोखरामा विन्ध्यवासिनी, वाराही ‘क’ र ‘ख’, श्रीकृष्ण हल तथा बुटवलमा कालिका चलचित्र मन्दिर सञ्चालनमा छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!