कञ्चनपुरमा उद्यान निर्माण कार्य शुरु

Posted on: 17 Sep, 2017

असोज १,कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ । 

जिल्ला वन कार्यालयको रु आठ लाख ५४ हजार, नगरपालिका को रु दुई लाख र निड्स नामक गैरसरकारी संस्थाको रु एक लाख ७५ हजारको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो । 

नगरपालिकाको स्वामित्वमा रहेको उद्यानमा एककोठे कार्यालय भवन, प्रवेशद्वार, शौचालय, २८० मिटर चौडाइको बोल्डर पिच, ब्याडमिन्टन कोर्ट निर्माण गरिएका छन् । उद्यानमा ८० प्रजातिका फूलका बिरुवा रोपिएको छ । 

“चार बिगाहा क्षेत्रफलमा फैलिएको उद्यानमा दुई हजार सिसौ, लिप्टिस, सागुन, बाँस, लहरेपीपल, वरलगायतका रुख प्रजातिका बिरुवा रोपेका छौँ”, उद्यान निर्माण समितिका अध्यक्ष करनसिंह ऐरले भन्नुभयो । 

उद्यानमा घेरबार राख्नका लागि यसअघि नगरपालिका र वडा कार्यालयले रु पाँच लाख खर्च गरेको थियो । 

उद्यानमा सेड हाउस, पानीका फोहरा, बालबालिका खेल्नका लागि आवश्यक सामग्री, उद्यानमा घुम्न आउनेहरुका लागि विश्रामस्थल निर्माणका लागि भविष्यमा कार्य अगाडि बढाइने नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । 

“यसका अतिरिक्त वडा कार्यालय, सामाजिक संघसंस्थाका कार्यालय भवन र खेलकुदका लागि मैदानसमेत निर्माण गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो । 

सनवोरा नदी किनाराको एकान्त क्षेत्र भएकाले बजारको कोलाहलबाट टाढा रम्नेका लागि उद्यान गतिलो गन्तव्य हुने उहाँको भनाइ छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!