महाकाली नगरपालिकाको बजेट ४४ करोड

Posted on: 18 Sep, 2017

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । चालु आर्थिक वर्ष २०७४ का लागि दार्चुलाको महाकाली नगरपालिकाले करीब ४४ करोड बराबरको बजेट पारित गरेको छ । 


महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको नगर सभामा उप प्रमुख सुना बोहराले ५२ वटा शीर्षकमा ४३ करोड ७१ लाख १९ हजार बजेट विनियोजन गर्नुभएको हो । उक्त नगरपालिकालाई सरकारले २९ करोड ३५ लाख २७ हजार अनुदान दिएको छ ।

प्रत्येक वर्ष एक वडामा ३ वटा काठे पुलको बिस्थापन गरी झोलुङ्गे तथा पक्की पुल बनाइने नगरसभाले निर्णय गरेको छ । नगर क्षेत्रमा बन्ने व्यक्ति तथा सामुदायिक भवन लगायतका संरचनाको अनिवार्य नक्सा पास गर्ने तर यो निर्णय लागु हुनुभन्दा पूर्व निर्माण भएका संरचनाको हकमा चालु आर्थिक वर्ष्भित्रमा नक्सा पास गर्न आएमा १० प्रतिशत छुट दिइने नगर सभाले निर्णय गरेको छ ।

महाकाली नगरपालिकाभित्र पर्ने सम्पूर्ण वडाहरुमा सडक बिस्तार गर्ने गरी नगरपालिकाले चालु आर्थिक वर्षको नीति र कार्यक्रम सार्वजानिक गरेको छ । नगरपालिकाका सबै बस्तीमा सडक सञ्जाल जोड्न नगरयातायात गुरुयोजना निमार्णका लागि चालु आर्थिक वर्षमा ५ लाख विनियोजित गरिएको छ ।



शिक्षाको विकासका लागि माध्यमिक तह सम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारी बनाउन जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरी निजी स्रोतबाट चलेका विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ ।

चालु आवदेखि कर्षक पेन्सन कोष स्थापनाका लागि २ लाख विनियोजीत गरिएको छ भने रेडियोहरुको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो कार्य्विधि २०७४ पारित गरिने पनि नगर सभाले निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!