स्मार्ट सिटीमा धादिङ पनि छानियो - दक्षिण कोरियाले सहयोग गर्ने

Posted on: 19 Sep, 2017

असोज ३, धादिङ | दक्षिण कोरियाले बनाउन लागेको स्मार्ट सिटीमा धादिङ पनि छानिएको छ । दक्षिण कोरियाले नेपालका उत्कृष्ट छ वटा स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने जनाएको छ । जसमा धादिङको नीलकण्ठ नगरपालिका पनि छनोट भएको हो । 

दक्षिण कोरियाको छनोटमा काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि सहयोग गर्ने भएको हो । छानिएका स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । 

यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिकातर्फ काठमाडौँ र पोखरा रहेका छन् भने नगरपालिकातर्फ नवलपरासीको रामग्राम, धादिङको निलकण्ठ, काभ्रेको धुलिखेल र भक्तपुर गरेका छन् । दक्षिण कोरियाको राजधानी सोलमा गत भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजित २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेयर्स फोरम कार्यक्रममा सोबारे जानकारी दिइएको थियो । 

छनोटमा परेका नेपालका छवटा स्थानीय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!