विराटनगरमा ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

Posted on: 19 Sep, 2017

असोज ३, मोरंग। विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ । 

महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहनुभएको छ । 

त्यसगरी सो अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन् । 

महानगरप्रमुख पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिनुभयो । 

सोअनुसार चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला तथा सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत रहनुभएको छ । 

गुण्डागर्दी, चन्दा असुली, लागुऔषध दुव्र्यसन, कारोबार र वैदेशिक रोजगारमा हुने ठगी अपराध नियन्त्रणका लागि नगर प्रहरी कार्यालयका प्रमुखलाई संयोजकमा तोकिएको छ । सवारीसाधनमा भाडा ठगी, खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, सरकारी कार्यालयमा हुने दलाली, अस्पतालमा हुने ठगी र मानवीय अंग बेचबिखन विषयका संयोजकमा सहायक प्रजिअ शेषनारायण पौडेल हुनुहुन्छ । ट्राफिक व्यवस्थापनसम्बन्धी संयोजकमा जिल्ला ट्राफिक कार्यालयका प्रमुखलाई तोकिएको छ । 

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पर्नेलगायत विषय 

राखिएको छ । सो अभियानको सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहने बताइएको छ । 

रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!