सनराइज बैंकको ७ लाख १० हजार कित्ता सेयर लिलामी खुल्यो, लिलामी भर्नेलाई पनि बोनस

Posted on: 24 Sep, 2017

असोज ८, काठमाडौं । सनराइज बैंकले सर्वसाधारण र संस्थापक समूहको ७ लाख १० हजार ७ सय ४३ कित्ता सेयर आइतबार (असोज ८) देखि लिलामीमा बिक्री खुला गरेको छ । 

बैंकले संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगागनीकर्ताले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । 

आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यता, सर्वसाधारण समूहतर्फ भने न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ । 

१० लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ । बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, काठमाडौंमा असोज २३ गते दिउँसो १ बजे खोलिनेछ । 

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १०: ३ को अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद निष्कासन गर्दा संस्थापक समूहको ७२ हजार ६१२ कित्ता र सर्वसाधारण समूहको ६ लाख ३८ हजार १३१ कित्ता सेयरमा आवेदन नपरेपछि बैंकले बाँकी सेयर लिलामीमा ल्याएको हो । 

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने क्रममा रहेको सनराइजले १५% बोनस सेयर दिने घोषणा गरिसकेको छ । बैंकले यो लिलामी सेयरपछि कायम हुने चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने जनाएको छ । यसआधारमा, हकप्रद तथा लिलामी भरेका सेयरधनीले समेत बोनस सेयर पाउनेछन् ।

गत आर्थिक वर्षको त्रैमाससम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ७६ लाख ९८ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । यो पुँजीबाट सनराइजले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । 

यसरी बोनस दिइसकेपछि सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!