बाजुरामा जंगली जैतुनको परीक्षण गरिँदै

Posted on: 10 Oct, 2017

असोज २४, बाजुरा । कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । 

स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश भण्डारीले जानकारी दिनुभयो । कालाऋषि सामुदायिक वनमा संकलन गरिएको २५० किलो जैतुन पेलेर तेल निकाल्ने काम गरिएको छ । 

यस वर्ष अनुसन्धान केन्द्रमा लगाइएको उन्नत जातको जैतुनले फल नदिएकाले स्थानीय प्रजातिकै जैतुनको फल संकलन गरेर तेल निकाल्न शुरु गरिएको भण्डारीले बताउनुभयो । 

जिल्लाका विभिन्न सामुदायिक वनमा करिब ३०० हेक्टरमा स्थानीय जातको जैतुनले फल दिने गरेको छ । जंगलको मोहोडा र दानाको आकारले केही फरक परे पनि यहाँको स्थानीय जातको जैतुनबाट करिब आठ प्रतिशतसम्म तेल निस्किने अनुसन्धान केन्द्रले जनाएको छ । हाल बजारमा जैतुनको तेल प्रतिलिटर रु दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री भइरहेको छ । 

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जैतुन जोन कार्यान्वयन एकाइ र जैतुन विकास केन्द्रको स्थापना गरी बाजुरालाई जैतुन जोनको रुपमा विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । विदेशबाट बोट ल्याएर जैतुनखेती गर्न थालिएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!