खोटाङ्गको मुख्य नाकास्थित पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

Posted on: 11 Oct, 2017

असोज २५, खोटाङ (रासस) | जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । 

निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इञ्जिनियर सीताराम कार्कीले बताउनुभयो । 

“क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ ।” उहाँले भन्नुभयो, “एप्रोच रोड निर्माण सकिएलगत्तै आगामी मंसिर पहिलो सातादेखि पुल पनि सञ्चालनमा आउँछ ।” 

करिब रु १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल निर्माणले खोटाङ्गे जनतामा ठूलो आशा जगाएको छ । जयरामघाटमा अहिले पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता छ । 

जयरामघाटको पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला हुने सांसद पाँचकर्ण राई (पिके) ले बताउनुभयो । “पुल अभावमा लामो समयदेखि जिल्लाको हरेक विकास÷निर्माणमा बाधा पुगेको थियो ।” उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आएपछि त्यो सबै समस्या समाधान भएर जिल्ला समृद्धिको बाटोतर्फ अगाडि बढ्छ ।” 

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको हुलास इञ्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले लिएको थियो । 

२०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । 

करिब १५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले दाबी गर्नुभयो । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुप¥यो ।” उहाँले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चीनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।” 

२०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक रु ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । 

घर खाली गरेर भाडा उपलब्ध गराइ दिन माग 

यसैबीच, जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेको एउटा घर खाली गरेर तत्काल भाडा उपलब्ध गराई दिन घरधनीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । 

जिल्ला अस्पातलले लिलाम गरेको उपकरण राखिएको दिक्तेलस्थित रत्नपार्क नजिक रहेको घर खाली गरेर भाडा उपलब्ध गराइ दिन अनुरोध गर्दै घरधनी राजन केसीले प्रजिअ एकदेव अधिकारी समक्ष लिखित माग गरेका हुन् । 

२०७२ साल चैत ७ गतेबाट मासिक रु १० हजार भाडामा लिएर लिलाम गरिएको उपकरण राखिएको घरमा प्रशासनले २०७३ साल असोज १२ गते शिलबन्दी गरेको थियो । प्रशासनले शिलबन्दी गरेपछि उपकरण राख्ने अर्जुन चौलागाईं पनि अहिलेसम्म सम्पर्कमा नआएको घरधनी केसीको गुनासो छ ।

केसीको घरको तीनवटा सटरमा अस्पतालले लिलाम गरेको आधाभन्दा बढी उपकरण राखिएको छ । “भाडाबापतको रकमको लोभमा घर दिइयो ।” केसीले भन्नुभयो, “अहिले न भाडा पाइयो, न घर नै खाली गरिदियो ! सबैभन्दा अप्ठ्यारोमा म परेको छु ।” 

“प्रशासनको तर्फबाट अघिल्लो सिडिओको पालामा शिलबन्दी गरिएको रहेछ,” प्रजिअ अधिकारीले भन्नुभयो, “यसमा घरधनीको कुनै दोष छैन । सम्बन्धित व्यक्तिलाई झिकाएर हल गर्ने योजना बनाएको छु ।” 

लिलाम बिक्री गरिएका उपकरण मर्मत गरेर काम लगाउन र सिलप्याक नै नतोडिएको उपकरणलाई कवाडीको भाउमा बिक्री गरिएको भन्दै विरोध शुरु भएपछि प्रशासनले राखेकै ठाउँमा पुगेर शिलबन्दी गरेको थियो । अस्पतालले लिलाम गरेका ११२ थरिका उपकरण तथा सामान मर्मतका लागि बाहिर लैजान केसीसहित दिक्तेलका तीनजनाको घरमा राखिएको अवस्थामा प्रशासनले शिलबन्दी गरेको हो । 

लिलाममा परेका उपकरणमध्ये अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण २६ हजार ५०० मा लिलाम बिक्री गरेको खुलासा भएको छ । अस्पताल विकास समितिलाई जानकारी नै नगराइ करोडौँको उपकरण न्यून मूल्यमा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाज खोटाङले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण शिल गर्न प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको थियो । 

अस्पतालको उपकरण लिलामका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको थियो । उपकरण लिलाम प्रकरणबारे छानबिन गर्न मन्त्रालयको टोली खोटाङ आएर गएपनि अहिलेसम्म कुनै कारबाही भएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!