प्रदेश नं.२ को राजधानी सर्लाहीमा हुनुपर्ने माग

Posted on: 29 Oct, 2017

सरोज यादव | कात्तिक १२, सर्लाही | दुई नम्बर प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जमा हुनु पर्दछ भन्ने चर्चा परिचर्चा चलिरहँदा सर्लाहीबासीहरुले प्रदेश नं.२ मा रहेको ८ वटै जिल्लाको बीचमा पर्ने सर्लाही जिल्लामा नै राजधानी हुनुपर्ने माग गरेका छन् ।

सर्लाहीको मलंगवामा शनिबार आयोजना गरिएको प्रदेश नं. २ को राजधानी उपयुक्त स्थानमा राख्ने सम्बन्धी बृहत छलफल कार्यक्रममा वक्ताहरुले सर्लाही आठवटै जिल्लाको बीचमा रहेकोले राजधानीका लागि सर्लाही उपयुक्त ठाउँ रहेको धारणा राखेका थिए ।

राजधानी वीरगञ्जमा राख्दा सप्तरी, सिरहा र धनुषालाई टाढा पर्छ भने जनकपुर राखियो भने पर्सा र बारालाई टाढा पर्ने नागरिक समाजका अगुवा महेन्द्रप्रसाद कर्ण बताएका छन् । जनकपुर र वीरगञ्ज आ(आफ्नै विशेषताले विकसित भएको स्थानलाई फेरी राजधानी बनाएर अरु जिल्लालाई पछाडी पार्ने काम भएको कर्णले बताएका छन् ।

‘वीरगंज औद्योगिक क्षेत्र र जनकपुर जानकी माताको जन्मभूमी भएको हिसाबले ती क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान छ’, कर्णले भने,‘सर्लाहीमा राजधानी बनायो भने सर्लाहीको विकास तथा पहिचान बढ्ने छ ।’ प्रदेशको केन्द्रमा पर्ने सर्लाहीलाई हटाएर कुनै एक कुनामा राजधानी बनाउनु सरासर गलत भएको राजपाका केन्द्रीय सदस्य जुल्फेकार मिकरानीले बताए । 

‘पायकपर्ने स्थानमा राजधानी हुनुपर्छ । सेवाग्राहीलाई सुगम पर्ने स्थानमा राजधानी बनाइनु पर्छ । राजधानीका नाममा जनतालाई दुःख दिने काम कुनै पनि हालतमा गरिनु हुदैन’ उनले भने । नागरिक समाजका अध्यक्ष उग्रकान्त झाँले सर्लाहीमा पूर्व पश्चिम राजमार्गको छेउछाउमा खाली रहेको हजारौं विघा जमिनमा पूर्वाधार निर्माण गरी राजधानी बनाए राम्रो हुने बताएका छन् ।

‘जमिनको हिसाबले सबैभन्दा बढी जमिन सर्लाहीमा खाली छ’, झाँले भने,‘ वन बिनास गरिएको हरिवनको नयाँरोड, नवलपुर तथा लालबन्दीमा खाली रहेको जमिनमा राजधानी बनाउनका लागि पर्याप्त जमिन छ ।’ सर्लाहीमा राजधानी बनाइएन भने चरणबद्ध रुपमा दबाबका कार्यक्रमहरु गर्ने राजधानी निर्माणसंघर्ष समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!