ईलामको गाग्रेभञ्ज्याङ–विर्तामोड सडक निर्माणमा ५८% काम सम्पन्न

Posted on: 28 Nov, 2017

मङ्सिर १२, मंगलबारे (इलाम) | देउमाई नगरपालिकाको मंगलबारे गाग्रेभञ्ज्याङ दानाबारी हुँदै विर्तामोड पुग्ने सडक आगामी २०७५ जेठसम्ममा सम्पन्न हुने भएको छ । 

डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन सो सडकको ५८ प्रतिशत काम पूरा भएको आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिनुभयो । 

उन्नति समावेशी परियोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलवासे–चिसापानी सडक निर्माण भएसँगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ । 

मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिब ११० किलोमिटर पार गर्नुपर्छ । तर सो सडक निर्माणपछि करिब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ । उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ । 

दुई चरणमा काम भइरहेको छ । सो परियोजनाअन्तर्गत ३२ किलोमिटर सडकको स्तरोन्नति गरिने इञ्जिनियर झाले बताउनुभयो । पर्खाल निर्माण ९० प्रतिशत पूरा भएको छ । 

विसं २०७३ चैतदेखि शुरु भएको काम सम्पन्न गर्न आगामी ७४ जेठसम्म कुर्नुपर्ने छ । हाल देउमाई नगरपालिकाको जितपुरबाट सोयाक–दानाबारी हुँदै झापासम्म तीनवटा बस सञ्चालनमा आएको स्थानीय बासिन्दाले बताए । 

सो सडक भएर साना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । पहिलो चरणमा १६ किलोमिटर सडक निर्माणको जिम्मा देवा निर्माण कम्पनीलाई दिइएको छ भने दोस्रो चरणअन्तर्गतको १५ किलोमिटर सडक निर्माणको जिम्मा याक्थुमहाङ बिरुवा कम्पनीलाई दिइएको छ । 

पहिलो चरणको काम गर्न रु १० करोड ७३ लाखमा ठेक्का सम्झौता भएको छ भने दोस्रो चरणको रु १० करोड १५ लाखमा ठेक्का सम्झौता हुन लागेको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कालोपत्र गर्ने तयारी रहेको आयोजनाका मूल्य श्रीङ्खला संयोजक विष्णु काफ्लेले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!