जलविद्युत ‘हव’ बन्दैछ कालीकोट

Posted on: 28 Nov, 2017

दलसिंह गिरी | मंसिर १२, कालिकोट । कालीकोटमा पश्चिम नेपालकै जलविद्युत ‘हब’का रुपमा विकास हुँदैछ । जिल्लामा ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, निर्माण प्रक्रियामा अगाडी बढेका छन् भने, १६ मेगावाटको पादमघाट जलविद्युत, ४२६ मेगावाटको फुकोट कर्णालीलाई निर्माण गर्ने अनुमति उर्जा मन्त्रालयले दिईसकेको छ ।

कालिकोटमा यी सबै आयोजना निर्माण सम्पन्न भएमा १ हजार ३१२ मेगावाट विद्युत उत्पादन नबने र पश्चिम नेपालमा जलविद्युत हवका रुपमा विकास हुन लागेको हो । कालिकोट जलबिद्युतको ‘हव’का रुपमा विकास हुन लागेकोमा यहाँका स्थानीयबासी निकै उत्साहित भएका छन् ।

कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल, जडिबुटी रहेकोले यहाँको विकासमा जलविद्युतको उपयोगमा यो बर्ष निकै ठुला उपलब्धी भएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कर्णालीकै आर्थिक विकासको आधार जल, जंगल र जडिबुटी हुन्’ उनले भने, ‘यो बर्ष कालिकोटमा जलविद्युतका प्रसस्त मार्ग खुलेका छन् । भर्खरैमात्र सरकारले कालिकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमति पत्र दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले तिला– १ र तिला– २ जलविद्युत आयोजनासँग विद्युत खरिद सम्झौताको लागि समझदारी भइसकेको छ । दुई जलविद्युत आयोजनाको प्रबद्र्धक एससी कम्पनीले तीन वर्ष अघि नै विद्युत विकास विभागमा निर्माण अनुमतिको लागि आवेदन दिएको थियो । तर विद्युत खरिद सम्झौता तथा प्रसारण लाइन सम्बन्धी सम्झौता रोकिएको बेला तत्कालिन उर्जामन्त्री जर्नादन शर्माले पहलमा प्राधिकरणले सम्झौता हस्ताक्षर गरिसकेको बताइएको छ ।

प्राधिकरण र एससी कम्पनीबीच अहिलेकै निर्देशिका अनुसार विद्युत खरिद गर्ने र सन् २०२४ सम्ममा प्रसारण लाइनमा जोड्ने भन्ने विषयमा समझदारी भएको शान्नि त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । दुवै पिकिङ रन अफ दि रिभर आयोजना हुन् । पिकिङ रन अफ दि रिभरको मापदण्ड अनुसार नै यसको पिपिए भएको छ ।

४२० मेगावाटको तीला–१ परियोजनाबाट कालिकोट जिल्लाका तिलागुफा नगरपालिका, कालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने र तिला–२ मा यिनै क्षेत्र प्रभावित हुने विद्युत निर्माण प्रबद्र्धक कम्पनी एसी पावर आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । आयोजनाहरुको निर्माण सन् २०२३ मा सक्ने लक्ष्य राखिएको छ । तर, प्राधिकरणले तयार पारेको प्रसारण लाइन गुरुयोजना अनुसार, त्यस क्षेत्रमा प्रसारण लाइन सन् २०२५ सम्म बन्ने प्राविधिक शाहीले बताए ।

त्यस्तै ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली आयोजना करिब  ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । जलविद्युत आयोजनामा स्थानीय शेयर लगायतका रोजगारीको अवसर जुट्ने कारणले यहाँको स्थानीयबासी निकै उत्साहित भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!