म्याग्दीमा जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

Posted on: 12 Dec, 2017

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) |  सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभिए सवस्टेसन र म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने प्रसारण लाइन निर्माणको काम अघि बढाएपछि जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्ररुपमा अघि बढेको छ । 

कालीगण्डकी करिडोर क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडन सरकारले सवस्टेशन र प्रसारण लाइनको काम अघि बढाएको हो । 

दाना र खुर्कोटमा जग्गा प्राप्तिको विवादले निर्माण प्रक्रिया दुई वर्ष लम्बिएको थियो । सोही कारणले ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाले १३ महिना लगाएर निर्माण कार्य गर्न सकेको थियो भने पाँच मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको निर्माण पनि निकै सुस्त थियो । 

विसं २०७३ को जेठ महिनादेखि दानामा सवस्टेसन निर्माणको काम अघि बढेपछि र प्रसारण लाइनअन्तर्गत खुर्कोटमा निर्माण हुने सवस्टेसनको जग्गा विवाद पनि २०७३ भदौमा टुंगिएपछि अहिले सवस्टेसन र प्रसारण लाइन दुवै कामले गति लिएको छ । घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले दाना सवस्टेसनको विवाद ढिला टु्ङ्गिँदा यसको प्रभाव जलविद्युत् आयोजनामा परेको बताउनुभयो । 

मिस्त्रीका आवासीय इन्जिनियर दिवाकर खड्काले पनि अबको २० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको र सो अवधिभित्र सवस्टेसन र प्रसारण लाइन पनि सम्पन्न हुने आशा गरिएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!